समय : १०:१० pm | बुधबार , पौष १० गते २०८१

भरतपुर महानगरपालिकाले सूचकका आधारमा वडालाई बजेट वितरण गर्ने, कुनलाई कति?

अर्थ विशेष | असार ५ गते २०८१

चितवन। भरतपुर महानगरपालिकाले सूचकका आधारमा वडा कार्यालयहरुलाई बजेट वितरण गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा सो व्यवस्था कार्यान्वयन गर्न लागिएको हो।महानगरले पहिलोपटक राम्रो काम गर्ने वडालाई केही बढी बजेट विनियोजन गर्ने नीति लिएको हो। महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले सुत्रका आधारमा गरिएको मूल्यांकनका आधारमा बजेट विनियोजन गर्न लागिएको जानकारी दिए। महानगरले आगामी आर्थिक वर्षका लागि वडाको ‘सिलिङ’ ८२ करोड रूपैयाँ विनियोजन गरेको छ।

यसमध्ये ७५ करोड रूपैयाँ २९ वटा वडालाई बराबर वितरण गरिने छ। यसबाट प्रत्येक वडाले दुई करोड ५८ लाख ६२ हजार रूपैयाँ न्यूनतम पाउनेछन्। बाँकी सात करोड सूचकका आधारमा वितरण गरिँदै छ।उनका अनुसार राजस्व तुलनात्मकरुपमा बढी उठाउने, पुँजीगत खर्च बढी गर्ने, जनसङ्ख्या, भौगोलिकता, असल अभ्यास, असल काम, शिक्षा, वातावरण, हरियाली लगायतका शीर्षकमा एक सय नम्बर राखेर मूल्यांकन गरी वडा छनोट गरिएको हो। सूचकमा पहिलो वडा नं २ भएको छ। यस वडाले दुई करोड ९० लाख दुई हजार रूपैयाँ बजेट पाउने भएको छ।

दोस्रोमा वडा नं ३ पर्न सफल भएको छ। यस वडाले दुई करोड ८९ लाख ५१ हजार रूपैयाँ बजेट पाउने भएको हो। त्यसैगरी तेस्रोमा वडा नं २० परेको छ। यस वडाले दुई करोड ८९ लाख ४५ हजार रूपैयाँ प्राप्त गर्ने भएको छ।

यस्तै सबैभन्दा कम बजेट पाउने वडा नं २४ रहेको छ। यस वडाले दुई करोड ७४ लाख २८ हजार रूपैयाँ पाउने भएको छ। चालु आर्थिक वर्षमा सबै वडाले दुई करोड ६५ लाख रूपैयाँका दरले रकम पाएका थिए। पहिलो नम्बरमा परेको वडा नं २ का अध्यक्ष मनोज रानाभाटले महानगरपालिकाले तोकेका सूचकमा राम्रो अंक पाएर आफ्नो वडा उत्कृष्ट भएको जानकारी दिए।

उनका अनुसार गत आर्थिक वर्षको भन्दा दोबर कर संकलन भएको छ। गत वर्ष एक करोड पाँच लाख रूपैयाँ राजस्व संकलन भएकोमा अहिले दुई करोड रूपैयाँ नाघेको छ। विद्यालयको एक सय मिटरभित्र सुर्तीजन्य पदार्थ पूर्ण निषेध गरिएको छ। सबै घरधुरीको तथ्यांक ‘अनलाइन’मा अद्यावधिक गरिएको छ। वडाभित्र पूर्णरुपमा ‘स्मार्ट लाईट’ जडान गरिएको छ। नमस्ते चोकदेखि मेयर चोकसम्म रात्रिकालीन बजारको तयारी गरिएको छ।

गमला राखेर वडालाई हरियाली बनाइएको छ। लागुऔषध नियन्त्रणका लागि टोलटोलमा समिति बनाएर रात्रिकालीन गस्ती गरिएको छ। वातावरण मैत्री तथा पूर्ण सरसफाइको वडा घोषणा गर्ने तयारी गरिएको छ। रानाभाटले मूल्यांकन गरेर पहिलो हुन पाएकोमा थप ऊर्जा पैदा भएको बताए। वडा नं ३ का अध्यक्ष विकास थापाले आफूले गरेको कामको मूल्यांकन भएको बताए उनले भने, ुवडाले महानगरले दिएको सूचकभित्र रहेर काम गरिरहेको छ।

महानगर प्रमुख रेनु दाहालले सकारात्मक प्रतिस्पर्धा हुने गरी पहिलोपटक आफूहरुले सूचकको आधारमा वडालाई बजेट विनियोजन गर्न लागेको जानकारी दिइन्। उनले भनिन्, ुवडाहरुबीचमा सकारात्मक प्रतिस्पर्धा भएर विकास र आम नागरिकको हितमा बढीभन्दा बढी काम गर्न यसले ऊर्जा पैदा गर्दछ।

महानगरले चालु आर्थिक वर्षमा ६ अर्ब ३१ करोड रूपैयाँको बजेट ल्याएको थियो। आगामी आर्थिक वर्षका लागि ६ अर्ब ६० करोड रूपैयाँभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्