कर्णाली। कर्णाली प्रदेशको कृषि क्षेत्रको उन्नयनमा आफूलाई केन्द्रित गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्षमा भौतिक प्रगति औसत गरेको छ। वित्तीय उपलब्धि ६९ प्रतिशत हासिल गरेको छ।
बुधबार भएको वार्षिक प्रगति समीक्षामा उक्त जानकारी दिइएको हो। उक्त आवमा कालिकोट कृषि विकास कार्यालयले ९६.६९ प्रतिशत वित्तीय प्रगति गरेको थियो। ब्याज अनुदान कार्यक्रमअन्तर्गत छ बैंकमार्फत एक अर्ब ४४ करोड लगानी गरिएको तथा त्यसबाट ५३५ जना कृषि व्यवसायी लाभान्वित भएका जनाइएको छ।
त्यस अवसरमा दिइएको जानकारीअनुसार गत आवमा ३६५ मेट्रिक टन अदुवा तथा बेसार जर्मनी निर्यात भएको, दुई हजार कृषक प्राङ्गारिक प्रमाणीकरणमा आवद्ध भएका, सात सय ४७ वटा साना सिँचाइ योजनाबाट दुई हजार १४२ हेक्टरमा सिँचाइ सेवा सुधार भएको तथा ९०० हेक्टरमा सिँचाइ सुविधा विस्तार भएको छ।








