काठमाडौं । बहुपक्षीय कर्जादाता निकाय विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय विकास संघ (आईडीए) को बैठक काठमाडौंमा हुने भएको छ ।
नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो । आगामी असार ४ गतेदेखि ७ सम्म काठमाडौ।मा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्नेछन् । आईडीएको २१औं बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश गरेका थिए ।
अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल छनौट गरेको हो । नेपालले ६ वर्षअघि आईडीए–१९ बैठक काठमाडौंमा गर्न डिसीस्थित विश्वबैंक मुख्यालयलाई पत्राचार गर्नुका साथै अनौपचारिक रुपमा लविङ गरेको थियो ।
उदघाटन, बन्दसत्र र समापन गरी तीन सत्रमा कार्यक्रम हुनेछ । समापनशत्रको प्रमुख अतिथि अर्थमन्त्री पुन छन् । अर्थमन्त्रालयले बैठक व्यवस्थापनका लागि सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेको छ ।
विकास साझेदारहरूको अन्तरराष्ट्रिय गठबन्धनको भूमिकामा रहने उक्त बैठकमा सहभागी हुन विश्व बैंकका अध्यक्ष अजय बांगा, बैंकको दोश्रो वरियताका विकास नीति र साझेदारी विभाग हेर्ने वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भ्यान ट्रोट्सनबर्गसहित नौ जना उपाध्यक्ष र पाँच डाइरेक्टर नेपाल आउँदैछन् । यस्तै
विश्व बैंकका लागि दाता रहेका करिब ६० र साझेदार ९० भन्दा बढी देशका ३०० बढी प्रतिनिधि बैठकमा सहभागी हुने सह–सचिव नेपालले जानकारी दिए ।
सन् १९६० मा स्थापना भएको आईडीए विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमा पछि परेका मुलुकहरुका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो ।
आईडीएले न्यून र मध्यम आय भएका विश्वसका ७५ भन्दा बढी मुलुकहरुमा सहायता उपलब्ध गराउँदै आएको छ । यसपटक बैठकको प्रमुख एजेण्डा नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने छ ।
सहसचिव नेपालले यो स्तरको बैठकस्थलका लागि नेपाल छनौट हुनु खुसीको कुरा भएको बताए । उनले साझेदारहरुसँगको सहकार्यमा नेपालमा निर्माणाधीन विकास आयोजना, तिनीहरुका सकारात्मक पक्ष र चुनौतीबारे विश्व समुदाय अवगत हुने र उक्त अनुभव संसारलाई बाँड्न बैठक महत्वपूर्ण हुने उल्लेख गरे ।
कार्यक्रमबाट नेपाललाई कूटनीतिक लाभसमेत मिल्ने विश्वास सरकारको छ । बैठकमा आगामी तीन वर्ष आईडीएले गर्ने प्रमुख कार्यका साथै आर्थिक विकासमा उत्पन्न श्रोतको सीमा लगायत विषयमा छलफल हुनेछ ।
बैठकपछि अध्यक्ष बांगासहित उच्च अधिकारीहरू काठमाडौं उपत्यका आसपास विश्व बैंकसहित विकास साझेदारका लगानीमा निर्माणाधीन विभिन्न नौ वटा आयोजनाको स्थलगत निरीक्षणमा जाने छन् ।
विश्व बैंकले संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत आयोजना र ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनामा लगानी गर्दैछ ।