समय : ०३:०६ pm | बुधबार , चैत्र ११ गते २०८२

६ महिनामा भित्रियो साढ ७ खर्ब बढी रेमिट्यान्स, विदेशी मुद्राको सञ्चिति पुग्यो २३ खर्ब १६ अर्ब

अर्थ विशेष | माघ २० गते २०८१

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भएर ७६३ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको थियो । त्यस्तै, २०८१ असार मसान्तमा २०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भई २०८१ पुस मसान्तमा २३१६ अर्ब ८४ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ पुस मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित प्रतिवेदनमा उल्लेख छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८४८ अर्ब ५५ करोड रहेकोमा २०८१ पुस मसान्तमा १२.१ प्रतिशतले वृद्धि भई २०७२ अर्ब ३४ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १९२ अर्ब ५५ करोड रहेकोमा २०८१ पुस मसान्तमा २७ प्रतिशतले वृद्धि भई २४४ अर्ब ५० करोड कायम भएको छ ।

पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ । सञ्चिति पर्याप्तता सूचक आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

२०८१ पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल ग्राहस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः ४०.६ प्रतिशत, १२०.३ प्रतिशत र ३२.० प्रतिशत छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्