समय : ०८:०९ am | मङ्गलबार , पौष ९ गते २०८१

बैंकहरुको घरजग्गा क्षेत्रमा ऋण प्रवाह निरन्तर बढ्दो, घरजग्गा कारोबारमा सुस्तता कायमै

अर्थ विशेष | मंसिर ६ गते २०८१

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाले घरजग्गा क्षेत्रमा ऋण लगानीको मात्रालाई बढाउँदै लगेको देखिएको छ । तर, सो क्षेत्रमा बढ्दै गएको ऋणको अनुपातमा भने घरजग्गा कारोबारमा वृद्धि भएको देखिँदैन ।

नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार नेपालका क, ख, ग र घ वर्गका बैंकहरूले पछिल्लो तीन वर्ष र चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा घरजग्गा क्षेत्रमा प्रवाह हुने ऋण प्रवाहलाई निरन्तर बढाउँदै लगेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष ०७८७९ को असार महिनाको तुलनामा गत आर्थिक वर्षको असार महिनामा ३९ अर्ब ९० करोड ३० लाख रूपैयाँ घरजग्गा क्षेत्रमा ऋण लगानी गरेका छन् ।

तर, आर्थिक वर्ष ०७८/७९ को तुलनामा आर्थिक वर्ष ०८०/८१ मा घरजग्गाको लिखत पारित सङ्ख्या भने तीन लाखमा घटेको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कले देखाएको छ ।

विभागको अभिलेख अनुसार आर्थिक वर्ष ०७८/७९ मा सात लाख ४५ हजार ११९ वटा लिखत पारित भएकोमा ०८०/८१ मा सो सङ्ख्या दुई लाख बढीले घटेर पाँच लाख ३७ हजार २९५ मा सीमित भएको थियो । त्यस्तै, आर्थिक वर्ष ०७९/८० मा लिखत पारितको सङ्ख्या चार लाख ६३ हजार ३२२ थियो ।

आर्थिक वर्ष ०७८/७९ मा बैंक तथा वित्तीय संस्थाहरूले रियल स्टेट कर्जाको क्षेत्रमा दुई खर्ब २८ अर्ब २५ करोड ५० लाख रूपैयाँ लगानी गरेका थिए । रियल स्टेट क्षेत्रमा बैंकहरूको लगानी ०७९/८० मा ९.३५ प्रतिशतले वृद्धि भएर दुई खर्ब ४९ अर्ब ५८ करोड ८० लाख रुपैयाँ पुगेको थियो ।

तर, आर्थिक वर्ष ०७८/७९ को तुलनामा आर्थिक वर्ष ०७९/८० मा बैंकहरूले रियल स्टेट क्षेत्रमा ९.५ प्रतिशतले कर्जा वृद्धि गरेपनि लिखत पारितको सङ्ख्या भने झण्डै तीन लाखले घटेर चार लाख ६३ हजार ३२२ वटामा सीमित भएको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै, गत आर्थिक वर्ष ०८०/८१ मा बैंक तथा वित्तीय संस्थाले रियल स्टेट क्षेत्रमा आर्थिक वर्ष ०७९/८० को तुलनामा ७.४४ प्रतिशतले कर्जा लगानी वृद्धि गरेर दुई खर्ब ६८ अर्ब १५ करोड ८० लाख रूपैयाँ पुर्‍याएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा भने गत आर्थिक वर्षमा घर–जग्गाको लिखत पारित सङ्ख्या एक लाखले बढेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा बैंक तथा वित्तीय संस्थाले रियल स्टेट क्षेत्रमा ऋण लगानीलाई थप १.९९ प्रतिशतले वृद्धि गरी दुई खर्ब ६८ अर्ब ६ करोड ८० लाख रूपैयाँ पुर्‍याएका छन् । सो अवधिमा एक लाख सात हजार १६० वटा लिखत पारित भएको विभागको तथ्याङ्क छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्