समय : ०२:३९ am | बिहिबार , भाद्र १८ गते २०८२

भारी मनसुनी वर्षाका कारण भारतद्वारा पाकिस्तानलाई थप बाढीको चेतावनी

अर्थ विशेष | भाद्र १८ गते २०८२

लाहोर । मनसुनी वर्षाबाट आएको बाढीले दुवै मुलुकमा मानवीय क्षति र व्यापक विनाश निम्त्याइरहेकाले भारतले पाकिस्तानलाई केही हप्तामै दोस्रो पटक सम्भावित सीमापार बाढीको चेतावनी दिएको छ ।  पूर्वी पाकिस्तानको विपद् व्यवस्थापन प्राधिकरणले मङ्गलबार यो चेतावनी जारी गरेको हो ।

नयाँदिल्लीले सिन्धु जल सन्धि प्रयोग नगरी, इस्लामाबादस्थित भारतीय उच्च आयोगमार्फत ‘मानवीय आधारमा’ यो जानकारी साझा गरेको भारत सरकारका एक अधिकारीले बताएका छन् । सिन्धु जल सन्धि हाल स्थगित अवस्थामा छ । गत महिनाको अन्त्यतिर भारतले बाँधबाट पानी छोड्दा र नदीहरूमा उग्र बहाव आउँदा पाकिस्तानले सीमावर्ती क्षेत्रमा सामूहिकरूपमा स्थानीयवासीलाई सुरक्षित स्थलमा स्थानान्तरण गर्नुपरेको थियो ।

यी दुई देश मे महिनामा युद्धको नजिक पुगेका थिए र दुवै आणविक शक्ति भएका प्रतिद्वन्द्वीबिच बारम्बार तनाव बढ्दै गएको छ, जसले कूटनीतिक सम्पर्कलाई असामान्य रूपमा प्रभावित पारेको छ । पछिल्लो चेतावनी सतलज नदीको बढ्दो जलस्तरसँग सम्बन्धित छ । यो बाढीको पानी बुधबार पाकिस्तानमा प्रवेश गर्ने अपेक्षा गरिएको छ । तीव्र धारले पहिले नै कसुर, ओकारा, वेहारी र बहावलनगरका सीमावर्ती समुदायलाई प्रभावित गरिसकेको छ ।

पञ्जाबको विपद व्यवस्थापन प्राधिकरणका अनुसार भारतीय उच्च आयोगले जलस्रोत मन्त्रालयमार्फत पाकिस्तानलाई यसबारे औपचारिक जानकारी दिएको छ । उत्तरी भारतका धेरै भागमा भारी वर्षा भएको छ । विगत २४ घण्टामा मात्र कम्तीमा १० जनाको मृत्यु भएको छ । यस कारण मङ्गलबार केही विद्यालय र कार्यालय बन्द गर्न बाध्य भएका थिए ।

करिब तीन करोड मानिस बस्ने भारतको पञ्जाब राज्यमा गत महिनामा मात्र भूस्खलन, बाढी र नदीको उग्र वहावका कारण कम्तीमा २९ जनाले ज्यान गुमाएका छन् । सेनाको सहयोगमा उद्धार टोलीहरूले हजारौँ मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् ।

नयाँदिल्लीमा हिमालयबाट बग्ने यमुना नदीको जलस्तरले मङ्गलबार खतराको स्तर नाघेको छ, जसले सहरको तल्लो क्षेत्रमा बाढीको जोखिम बढाएको छ । राजधानी बाहिरको गुरुग्राम सहरमा समेत भारी वर्षापछि सडक र अपार्टमेन्ट जलमग्न हुँदा गम्भीर यातायात अवरोध उत्पन्न भएको छ ।

यसैबिच पाकिस्तानको पञ्जाब प्रान्तका अधिकारीले हालका महिनामा मनसुनी बाढीका कारण १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको र करिब २४ लाख ५० हजार मानिस प्रत्यक्ष रूपमा प्रभावित भएको बताएका छन् । रासस/एपी 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्