समय : ०२:४१ am | सोमबार , पौष ७ गते २०८१

ग्वान्जाओ-काठमाडौं रुटमा साउदर्न एयरलाइन्सको दैनिक दुई उडान सुरु

अर्थ विशेष | जेठ २० गते २०८१

काठमाडौं । चीनको चाइना साउदर्न एयरलाइन्सले नेपालमा उडान सङ्ख्या थपेको छ । हाल चीनको ग्वान्जाओ-काठमाडौं रुटमा हरेक दिन एउटा उडान गरिरहेको एयरलाइन्सले शनिबारदेखि दैनिक २ वटा उडान सुरु गरेको हो ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । मन्त्री तामाङ र चाइना साउदर्न एयरलाइन्सको नेपालस्थित प्रतिनिधिले चीनको ग्वान्जाओबाट काठमाडौं उडानको आधिकारिक थप उडानको क्याबिन क्रूहरूलाई विमानस्थलमा स्वागत गरेका थिए ।

मन्त्री तामाङले आगामी दिनमा चाइना साउदर्न एयरलाइन्सको व्यावसायिक उडान थप विश्वासिलो, सुरक्षित बनाउन अझै प्रभावकारिता अभिवृद्धि गर्दै पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार चाइना साउदर्न एयरलाइन्सको जहाज दिउँसो काठमाडौं विमानस्थलमा अवतरण भई यहाँबाट यात्रु लिएर ग्वान्जाओका लागि उडान भरेको थियो । उक्त एयरलाइन्सले कोभिड–१९ महामारीपूर्व नेपालमा दैनिक दुई उडान गर्दै आएकामा त्यसयता एउटा उडान कटौती गरेको थियो । कटौती भएको उडान आजदेखि पुनः सञ्चालन गरेको हो ।

ग्वान्जाओबाट काठमाडौं दिउँसो २ बजे अवतरण हुने जहाज काठमाडौंबाट ३ बजे ग्वान्जाओका लागि उडान भर्ने तालिका छ । त्यस्तै हरेक रात ११ बजे काठमाडौं अवतरण हुने र राति १२ बजे ग्वाञ्जाओका लागि उडान गर्ने तालिका रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

योसहित चीनका चार एयरलाइन्सले काठमाडौं गन्तव्यमा उडान गर्दै आएका छन् । एयर चाइना, चाइना साउदर्न एयरलाइन्स, चाइना इन्टर्न एयरलाइन्स र सिचुवान एयरलाइन्सले नेपालमा उडान गर्छन् । चीनबाट उडान बढेसँगै चिनियाँ पर्यटक आगमन बढ्ने विश्वास लिइएको छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पनि कोभिड–१९ अघि चीनको ग्वान्जाओमा उडानको तयारी गरे पनि महामारीका कारण रोकिएको थियो ।

नेपालको पर्यटन बजारका लागि चीन भारतपछिको दोस्रो ठूलो गन्तव्य हो । साथै चीन विश्वको आउटवाउण्ड टुरिजममा शीर्षस्थानमा रहँदै आएको छ । चीनको कूल आउटबाउण्ड पर्यटकमध्ये एक प्रतिशत मात्रै पनि नेपाल ल्याउन सकियो भने पर्याप्त हुने जानकारहरू बताउँछन् ।

चीनबाट धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपालमा आकर्षित गर्न विभिन्न पर्यटन व्यापार मेला आयोजना हुँदै आएका छन् । दुई मुलुकबीच विभिन्न समयमा हुने कूटनीतिक भ्रमण र सांस्कृतिक भ्रमणले पर्यटन, संस्कृतिको माध्यमबाट सम्बन्धलाई थप प्रगाढ बनाइरहेको छ ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जसमा चिनियाँ पर्यटकको संख्या ६० हजार आठ सय ७८ थियो । पछिल्लो समय नेपालले चिनियाँ पर्यटकलाई भिसा शुल्क नलिने घोषणा गरिसकेको छ ।

गत वैशाख १९ गतेदेखि नेपालीलाई साधारणतर्फ भिसा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको थियो । नेपालले सन् २०१६ देखि नै चिनियाँ नागकिरलाई निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ ।

सन् २०२४ मा चिनियाँ पर्यटक आगमन बढिरहेको छ । बोर्डका अनुसार गत अप्रिलमा एक लाख ११ तीन सय ७६ विदेशी पर्यटकले नेपाल भ्रमण गरेकामा चीनबाट मात्रै नौ हजार सात सय ५० पर्यटक नेपाल आएका छन् ।

मार्चमा १२ हजार ९३, फेब्रुअरीमा नौ हजार एक सय ८० र जनवरीमा एक हजार चार सय ३६ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । कोरोना महामारीपूर्व सन् २०१९ मा एक लाख ६९ हजार पाँच सय ४३ चिनियाँ पर्यटक नेपाल आएका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्