काठमाडौं । हाइलाइफ फूड्सले भारतको नम्बर वान ब्राण्ड बासमती चामल नेपाल भित्र्याएको छ । भारतको लालकिल्लाब्राण्डको बासमती चामललाई नेपालमा हाइलाइफले आफ्नो ब्राण्डिङमा बिक्री वितरण गर्ने भएको हो।
कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले आम उपभोक्तासम्म पुग्न उत्कृष्ट उत्पादन बासमती चामल ल्याएको जानकारी दिए । बासमती चामलका लागि भारतको उत्कृष्ट कम्पनी लालकिल्लासँग सहकार्य गरेको उनले बताए । ‘लालकिल्लाभारतको उत्कृष्ट ब्राण्ड हो । लालकिल्लाब्राण्डको बासमति चामल नेपाली उपभोक्ता माझमा असाध्यै लोकप्रिय छ । जुन चामल अब हाइलाइफ ब्राण्डमार्फत नेपालमा भित्र्याएका छौं,’ पौडेलले भने ।
हाइलाइफले बासमती चामललाई तीनवटा प्रकारमा बजारमा उपलब्ध गराउने छ । अध्यक्ष पौडेलका अनुसार हाइलाइफ एक्स्ट्रा लङ्ग ग्रेन, हाइलाइफ पुलाउ र हाइलाइफ लो जी बासमती राइस क्याटागोरीमा बजारमा उपलब्ध हुनेछन् । तत्कालका लागि कम्पनीले १ केजी, ५ केजी र २० केजीको प्याकेजिङमा बासमती चामल बिक्री वितरण गर्ने उनले बताए ।
‘निकट भविष्यमा ग्राहकको चाहना तथा मागअनुरूप हामीले यसलाई १० केजी र १५ केजीको समेत प्याकेजिङ गर्नेछौं,’ पौडेलले भने । कम्पनीका अनुसार चामलको मूल्य प्रतिकेजी २२५ रुपैयाँदेखि २५० रुपैयाँ तोकेको छ । २० केजीको मूल्य भने ३ हजार रुपैयाँदेखि ३ हजार ५ सय रुपैयाँसम्म तोकिएको छ ।
कम्पनीले सबैभन्दा चर्चित ब्राण्ड चिउरासहित चोको प्लस, चोको फिल्स, कन्फ्लेक्स, सोया, मस्यौरा, बेसन, चिया, ओट्स लगायतका २० वटाभन्दा बढी प्रडक्टको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
					

					
					
					
					







