काठमाण्डौ । प्रभु बैंकले ८.५० प्रतिशत वार्षिक लाभांश दर कायम रहने गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिको चैत २७ गते बसेको ४१५औँ बैठकले उक्त निर्णय गरेको हो।
निर्णयअनुसार बैंकले प्रति सेयर रु. १०० दरका ५ करोड इकाई अग्राधिकार सेयर जारी गर्नेछ, जसको कुल परिमाण रु. ५ अर्ब बराबर हुनेछ। यी सेयरहरू व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्ताहरूलाई मात्र बिक्री गरिने जनाइएको छ।
जारी गरिने उक्त सेयरमा ८.५० प्रतिशत लाभांश दर कायम गरिने भए पनि बैंकले मुनाफा आर्जन गरेको वर्षमा मात्र लाभांश वितरण गरिनेछ। साथै, असञ्चिति प्रकृतिका कारण कुनै वर्ष लाभांश वितरण हुन नसकेमा सो लाभांश आगामी वर्षमा सारिने छैन।उक्त प्रस्ताव कार्यान्वयनका लागि विशेष साधारण सभाबाट पारित हुनुका साथै नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित नियामक निकायहरूबाट आवश्यक स्वीकृति प्राप्त गर्नुपर्ने बैंकले जनाएको छ।









