चितवन । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १० वर्षदेखि सञ्चालनमा नरहेका वा दाबी नगरिएका खाताका रकम हकदाबी गर्न सम्बन्धित खाताधनीलाई आग्रह गरेको छ । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंक बाट जारी एकीकृत निर्देशन, २०७९ अनुसार यस्तो जानकारी सार्वजनिक गरिएको जनाएको छ ।
निर्देशनको प्रावधानअनुसार लामो समयदेखि निष्क्रिय रहेका खाताहरूको विवरण बैंकको आधिकारिक वेबसाइटमा प्रकाशित गरिएको छ । सूचनामा उल्लेख भएअनुसार १० वर्षसम्म कुनै कारोबार नभएका वा खाताधनीले रकम दाबी नगरेका खाताहरू सक्रिय गराउन तथा आफ्नो रकम फिर्ता लिन सम्बन्धित व्यक्तिहरूलाई बैंकमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
बैंकका अनुसार १० वर्षसम्म पनि कुनै दाबी नआएको अवस्थामा त्यस्ता निक्षेप रकम नेपाल राष्ट्र बैंकको ‘बैंकिङ विकास कोष’ मा जम्मा गरिने व्यवस्था रहेको छ । त्यसैले समयमै आफ्नो खाताको अवस्था बुझेर आवश्यक प्रक्रिया पूरा गर्न बैंकले ग्राहकलाई सचेत गराएको छ ।
नारायणी डेभलपमेन्ट बैंकले सम्बन्धित खाताधनीलाई थप जानकारीका लागि बैंकको वेबसाइट वा केन्द्रीय कार्यालय, भरतपुर–१० चितवनमा सम्पर्क गर्न आग्रह गरेको छ ।










