समय : ०६:५० pm | सोमबार , चैत्र २ गते २०८२

बिर्तामोडमा ‘ग्लोबल मनी विक’, २५० भन्दा बढी बैंकर्सको वृहत् प्रभातफेरी

अर्थ विशेष | चैत्र २ गते २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकको आह्वानमा विश्वव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी विक २०२६’ को अवसर पारेर झापाको बिर्तामोडमा भव्य प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । ‘स्मार्ट मनी टक्स भन्ने मूल नाराका साथ आज चैत २ गते सोमबार आयोजित यस कार्यक्रमले स्थानीय स्तरमा वित्तीय साक्षरता र सचेतनाको नयाँ लहर ल्याएको छ ।

बिर्तामोडका विभिन्न स्थानको परिक्रमा गरेको उक्त प्रभातफेरीमा यहाँ सञ्चालित विभिन्न बैंक तथा वित्तीय संस्थाका करिब २५० जना कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।प्रभातफेरीका सहभागीहरूले सर्वसाधारणलाई वित्तीय अनुशासन र आधुनिक बैंकिङका बारेमा सुसूचित गराएका थिए ।

विशेष गरी बचत गर्ने संस्कृतिको विकास, डिजिटल बैंकिङको सुरक्षित प्रयोग, जिम्मेवार ढंगले खर्च गर्ने बानी र सही ठाउँमा लगानी गर्ने जस्ता समसामयिक विषयमा प्लेकार्ड र नारासहित सन्देश प्रवाह गरिएको थियो । सन् २०१२ देखि सुरु भएको यो अभियान हाल विश्वका १७० भन्दा बढी देशहरूमा किशोर तथा युवा वर्गलाई लक्षित गरी सप्ताहव्यापी रूपमा मनाउने गरिन्छ, जसको मुख्य उद्देश्य युवा पुस्तामा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउनु हो ।

कार्यक्रमको महत्त्वबारे प्रष्ट पार्दै एक्सेल डेभलपमेण्ट बैंकका नायब महाप्रबन्धक अशोक क्षेत्रीले यस्ता अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउने बताए । उनका अनुसार वित्तीय साक्षरता कार्यक्रमले विशेष गरी युवा वर्गमा स्वस्थ वित्तीय बानीको विकास गर्न, भविष्यमा आउन सक्ने वित्तीय अनिश्चितताहरूप्रति सजग रहन र ठोस वित्तीय योजना निर्माण गर्न ठूलो मद्दत पुर्याउने विश्वास लिइएको छ।

बिर्तामोडमा आयोजित यस प्रभातफेरीले सर्वसाधारणलाई औपचारिक बैंकिङ प्रणालीसँग जोडिन र आर्थिक रूपमा सबल बन्न समेत प्रेरित गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्