काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि औसत ब्याजदर घटेको छ । प्रकाशित सूचना अनुसार बैंकहरुको जेठ महिनाको औसत ब्याजदर बैशाखको तुलनामा सामान्य घटेको हो ।
बैशाख महिनामा ५.९७९५ प्रतिशत बिन्दुमा रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरको औसत जेठ महिनामा घटेर ५.९५२ प्रतिशत बिन्दुमा झरेको छ। बैशाखको तुलनामा जेठमा बैंकहरुको यस्तो ब्याजदर ०.०२७५ प्रतिशतले घटेको हो।
२० वटा वाणिज्य बैंकहरुमध्ये १४ बैंकहरुले बैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बाँकी ६ वटा मध्ये ३ वटा बैंकहरुले ब्याजदर घटाएका छन् भने ३ वटाले बढाएका छन्।
जेठ महिनाका लागि ब्याजदर घटाएका बैंकहरुमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सबैभन्दा बढी १ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ। बैशाख महिनामा ६.५ प्रतिशत रहेको सो बैंकको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर जेठमा ५.५ प्रतिशतमा झरेको छ।
त्यस्तै, सिद्धार्थ बैकले यस्तो निक्षेपको अधिकतम ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटाएको छ भने कुमारी बैंकले ०.०१ प्रतिशत बिन्दुले घटाएको छ।
बैशाखको तुलनामा सानिमा बैंक, नेपाल बैंक र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएका छन्। जसमध्ये सानिमा बैंकले सबैभन्दा बढी ०.३८ प्रतिशत बिन्दुले बढाएको हो।









