काठमाडौं । लक्ष्मी सनराईज बैंकले चालु आर्थिक वर्षको ९ महिना सकिँदासम्म १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिको तुलनामा ४ करोड रुपैयाँ बढी नाफा गरेको हो ।
बैंकले गत वर्षको चैतसम्म १ अर्ब ६१ करोडमात्र नाफा गरेको थियो । यस अवधिमा लक्ष्मी सनराइजको खुद ब्याज आम्दानी घटे तापनि नोक्सानी व्यवस्थाका लागि छुट्याएको रकम घट्दा नाफामा बढोत्तरी भएको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ५१ करोड रहेकामा ७ अर्ब ८९ करोडमा सिमित भएको छ ।
तर, इम्पेयरमेन्ट चार्ज ३ अर्ब २० करोडमात्र छ जुन गत आवको चैत मसान्तमा ४ अर्ब थियो । बैंकको पर्सजन एक्सपेन्सेस केही बढेको छ । तर, अन्य सूचकमा उतारचढाव नहुँदा नाफामा स्थायित्व देखिन्छ ।
लक्ष्मी सनराइजले चैतसम्म ३ खर्ब ४४ अर्ब २० करोड रुपैयाँ निक्षेप परिचालन गरी २ खर्ब ७६ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । एक वर्षको अवधिमा बैंकले १५ अर्ब निक्षेप र १९ करोड रुपैयाँ कर्जा बढाएको हो ।
नाफा सामान्य दरले बढे तापनि बैंकको प्रतिसेयर आम्दानी केही घटेको । गत वर्षको चैतसम्म ९.२९ रुपैयाँ रहेको ईपीएस ९.०५ रुपैयाँ कायम भएको हो । यसैगरी नेटवर्थ १७६.१६ रुपैयाँ रहेको छ । यता निष्क्रिय कर्जाको अनुपात सामान्य दरले बढेको छ । गत आवको ९ महिना सकिँदासम्म बैंकसँग यस्तो कर्जा ५.४९ प्रतिशत रहेकामा यसपालि ५.८६ प्रतिशत पुगेको छ ।
बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.३ प्रतिशत छ । नाफा सामान्य बढ्दा बैंकको वितरणयोग्य नाफा ७७ करोड २७ लाख रुपैयाँ छ जुन ३.१७ प्रतिशत लाभांश वितरण गर्न पर्याप्त छ ।