जनकपुर । नबिल बैंक लिमिटेडले जनकपुरको मोनास्टिक हाइयर सेकेण्डरी अंग्रेजी बोर्डिङ स्कुलमा नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप अन्तर्गतको नबिल एसएसई ‘सर्टिफिकेट कोर्स’ सुरू गरेको छ।
शनिबार आयोजित एक कार्यक्रममा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिसकुमार सिंह तथा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल लगायतको उपस्थितिमा कोर्सको औपचारिक सुरूआत गरिएको हो।
बैंकका अनुसार उक्त कोर्सका लागि पहिलो समूहमा खुला आवेदनमार्फत २५ जना छनोट भइसकेका छन्। कोर्सको सुरूआत गर्दै मुख्यमन्त्री सिंहले बैंकले सामाजिक उद्यमशीलता बढाउने उद्देश्यले सुरू गरेको उक्त प्रयासको प्रशंसा गरे।
'बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक महत्वका पूर्वाधार निर्माणमा जोड दिँदै आएकोमा नबिल बैंकले उद्यमशीलताको विकासका लागि सर्टिफिकेट कोर्स सुरू गरेको छ। यो उद्यमशीलतामा रुचि राख्नेका लागि लाभदायक हुने अपेक्षा छ,' मुख्यमन्त्री सिंहले बताए।
त्यस अवसरमा नेपाल राष्ट्र बैंकका निर्देशक डिलाराम सुवेदीले नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुरू गरेको सामाजिक उद्यमशीलतासम्बन्धी कार्यक्रम सराहनीय भएको बताए।
नबिल बैंकका अध्यक्ष पौडेलले सर्टिफिकेट कोर्सको पहिलो समूहका सहभागीलाई सम्बोधन गर्दै बैंक नाफामा मात्रै नभइ दिगो नतिजा ल्याउने क्षेत्रमा समेत केन्द्रित रहेको उल्लेख गरे। साथै स्टार्टअप सुरूआत गर्न चाहने र सुरूआत गरिसकेकालाई लक्षित गरी बैंकले नबिल एसएसई कार्यक्रम सुरू गरेको उनको भनाइ थियो।









