काठमाडौं । सिटिजन्स बैंकको सञ्चालकमा ईला शर्मा नियुक्त भएकी छिन् । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले शर्मालाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कानूनमा विशेष अनुभव सँगालेकी शर्मासँग निर्वाचन आयुक्त भएर काम गरेको अनुभव छ । उनीसँग अन्तर्राष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभव छ ।
निर्वाचन सम्बन्धी कानून, नियमावली र निर्देशनमा संलग्न उनी उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्ष समेत भइन् । उनले काठमाडौं विश्वविद्यालय लगायत विदेशी विश्वविद्यालयको पाठ्यक्रम विकास र अध्यापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् ।
उद्योग तथा वाणिज्य मन्त्रालय र यूएनडीपी परियोजनाका लागि राष्ट्रिय परामर्शदाताको रूपमा काम गरेकी शर्मा विभिन्न आईएनजीओमा समेत संलग्न छिन् ।