समय : ०६:१६ am | सोमबार , भाद्र १६ गते २०८२

डोको बनाएर मासिक ३५ हजार आम्दानी

अर्थ विशेष | श्रावण २० गते २०८२

भोजपुर । टेम्केमैयुङ गाउँपालिका- १ तिम्माका ४० वर्षीय चन्दबहादुर तामाङले डोका बिक्रीबाट मासिक ३५ हजार रुपैयाँ आम्दानी गर्दै आएका छन्। 

प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो,डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत सामग्री लोप हुँदै गएको अवस्थामा उनले डोका बिक्रीबाट मासिक ३५ हजारसम्म आम्दानी गर्दै आएका हुन्।

स्थानीय बजारमाडोकोको प्रशस्त माग हुने गरेकाले आफूले बुनेका डोका भोजपुर सदरमुकामका साथै स्थानीय बजारमा बिक्री हुने तामाङले बताए। डोका बुन्ने कामबाट परिवार चलाउन समस्या नरहेको उनले बताए। करिब ४१ वर्षअघिदेखि डोका बुनेर बिक्री गर्दै आएको बताउँदै उनले एकदिनमा १० वटासम्म तयार हुने जानकारी दिए।

‘निकै लामो समयदेखि डोका बुन्ने काम गर्दै आएको छु’, तामाङले भने, ‘एक दिनमा आठदेखि १० वटासम्म डोका बुन्छु। डोका बिक्रीबाट मासिक ३५ हजारसम्म आम्दानी हुन्छ।’ उनका अनुसार स्थानीय बजारमा प्रतिवटा रु ३५० देखि ४०० सम्ममाडोको बिक्री हुन्छ। घरको अन्य काम नगरी यही मात्र पेसा गर्ने हो भने वार्षिक सातदेखि आठ लाखसम्म आम्दानी लिन सकिने उहाँको भनाइ छ।

‘डोका बुन्ने कामबाट प्रशस्त आम्दानी हुन्छ’, तामाङले भने, ‘यही मात्र व्यवसाय गर्ने हो भने वार्षिकआठ लाखसम्म आम्दानी गर्न कठिन छैन। अन्य कृषिकर्म गरेर बचेको समयमा बुनेर पनि वार्षिक तीनदेखिचार लाखसम्म आम्दानी हुन्छ।”

आफूले बुनेको मालिङ्गो (लेकमा पाइने बाँस प्रजातिको वनस्पति) का डोका जतनसँग प्रयोग गरेमा तीन वर्षसम्म टिक्ने उनले बताए। मालिङ्गोबाहेक, सिँगाने, निकालो, बाँसलगायतको चोयाबाट पनिडोको तयार गर्न सकिन्छ।डोकोका लागि विभिन्न ठाउँबाट माग हुने तामाङले बताए।

सामुदायिक वनले कडाइ गर्ने भएकाले कच्चापदार्थ जुटाउन समस्या रहेको तामाङले बताउनुभयो। मालिङ्गो काट्नका लागि वर्षमा एक पटक मात्र वन खुला हुने गरेको उहाँको भनाइ छ। आफ्नै निजी बारीमा उत्पादन हुने मालिङ्गो, सिँगाने लगायत कच्चापदार्थबाट डोका बुन्दै आएको तामाङले जानकारी दिए। 

प्रविधिको विकाससँगै गाउँघरमा  नाङ्लो,डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत बनाउने सीप हराउँदै गएकाले यसको संरक्षण गर्न आवश्यक रहेकाले यसलाई निरन्तरता दिएको तामाङले बताए।  परम्परागत पेशाको व्यावसायीकरण गर्न स्थानीयले सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्