काठमाडाैं। आज साउन दोस्रो साता लागिसकेको छ। लामो खडेरीले आतिएका महोत्तरीका किसानले अझै आकाश ताक्न छाडेका छैनन्। आकासे पानीको भरमा रहेका किसान साउन दोस्रोसम्म वर्षा भएर रोपाइँ गर्न पाइन्छ कि भन्ने आशामा आकाश ताक्दै बसेका छन्।
रोपाइँको समय घर्कंदै जाँदा पनि यहाँका किसान वर्षा भइहाले अलिअलि भए पनि रोपाइँ गर्न पाइन्थ्यो भन्ने आशमा बसेका हुन्। “मध्य साउनमा धानको रोपो लहलहाउनुपर्ने हो, हामी अझै पानी परे रोप्न पाइन्थ्यो कि भन्ने आशमा छौँ”, भंगाहा–१ का किसान रामकिसन मण्डलले भने।
यसपालि धानको बीउ राख्ने, बीउ रोप गर्ने र खरुअन (कलम, पहिलो रोपो गाँजिएपछि उखेलेर रोप्ने) रोपका परम्परागत तालिका पानी नपरेर त्यसै बितेका उनको भनाइ छ।
मधेससहित महोत्तरीमा गत जेठ २२ भित्र बीउ राख्ने, असार २२ भित्र बीउ रोप सक्ने र साउन २२ गतेभित्र खरुअन रोपीसक्ने तालिका मानिन्छ। खरुअन बीउ अपूग हुँदा र बर्खे धान तथा अन्यबाली काटेर रोपाइँ गरिन्छ। यसपालि पानी नपर्दा यी तालिका सबै खल्बलिएका स्थानीय इस्राफिल राइनले बताए।
जिल्लामा साउन दोस्रो सातासम्म ३५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ। रोपिएको धान पनि सर्वसाधारणका लागि निकै खर्चिलो भएको बताइएको छ।









