समय : ०६:१७ pm | बुधबार , श्रावण १४ गते २०८२

पानी अभावले हुन सकेन रोपाइँ

अर्थ विशेष | असार २९ गते २०८२

हुम्ला । साउन लाग्नै गर्दा पनि हुम्लाको सयौँ हेक्टर खेतबारी अझै सुक्खै छन् । धान र कोदोको बीउ तयार भए पनि खेतबारीमा पानी छैन । किसान बनेर आकाशतिर हेरिरहन्छन् । बर्खाको भरमा धान लगाउने किसान यस वर्ष वर्षा नभएपछि निराश छन् ।

अदानचुली गाउँपालिकाका किसान भन्छन्, ‘धान र कोदो रोप्न बीउ तयार छ, बीउ उम्रिसक्यो, तर पानी छैन । नहरका लागि पानीको मुहान पनि छैन । आकासे पानीका बसेका छौँ ।’ असारभर राम्ररी वर्षा नहुनु र वैकल्पिक सिँचाइ योजना पनि नहुनुले समस्या भएको यहाँका किसान बताउँछन् । अधिकांश ठाउँमा सिँचाइका नहर भए पनि गत वैशाखमा आएको बाढीले क्षतिग्रस्त छन् । आकाशबाट आएको पानीले खोला बढेपछि सोही खोलाको पानीले खेत रोप्नका लागि बनाइएका कुलोमा झार मात्र उम्रिएको छ । योजनाहरू प्रायः व्यक्तिगत छन् । सिँचाइका योजना छैनन् ।

अदानचुली गाउँपालिकामा संघ, प्रदेश र स्थानीय सरकारले हरेक वर्ष करोडौँ रुपैयाँ विकास योजनामा विनियोजन गरेको हुन्छ तर व्यक्तिगत पर्खाल, गेट, मोटरेबल सडक र रङ्गीन बोर्डहरूमा बजेट खर्च भइरहेछ । तर खेतबारीमा पानी पुर्‍याउने कुनै योजना र कार्यक्रम देखिन्न । खोलाको नाममा तटबन्धन भए पनि आफ्नै जग्गा र पर्खाल बनाउने, व्यक्तिगत फार्महरूको घेरबारलगायत योजना संघ र प्रदेशले बनाएर कार्यान्वयन गरेको पाइन्छ ।

‘धान, कोदोलगायत अन्य बालीनाली रोप्न नपाएर बीउ सुक्न लागिसक्यो । किसानलाई योभन्दा ठूलो यातना केही हुँदैन । खेतमा पानी छैन, यसमा कसैको ध्यान जाँदैन’, स्थानीय ललित बुढाले भने । गाउँपालिकाले ‘कृषिमा आधुनिकीकरण’ भनेर बजेट सार्वजनिक गरेको छ । सोलारपम्प, डिपबोरिङ वा कुलो निर्माण र मर्मत जस्ता जीवन्त योजना अझै फाइलमा अड्किएका छन् । ‘खेत सुक्छ, किसानको आवाज सुनिँदैन । बीउ वितरण, अव्यवस्थित सिँचाइ प्रणालीले समस्या भएको छ’, उनले भने ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्