समय : ०९:१३ pm | मङ्गलबार , चैत्र १० गते २०८२

कैलालीका किसानलाई चैतेधान भित्र्याउने चटारो

अर्थ विशेष | जेठ २८ गते २०८१


घोडाघोडी। कैलालीको घोडाघोडी नगरपालिका(८ का बुझाउन चौधरीलाई हिजोआज चैते धान भित्र्याउने चटारो छ। उनले पाँच कठ्ठा जमिनमा चैते धान लगाएका छन्। चौधरीले तीन वर्षदेखि चैते धानको खेती गर्दै आएका छन्।बर्खे धानभन्दा चैते धान बढी उब्जनी भएको उनले बताए। ुअर्को वर्ष एक बिघामा चैते धान लगाउने सोच छु, चौधरीले भने।

चैते धान लगाएको सुरुको वर्ष पाँच कठ्ठामा १० क्विन्टल उत्पादन भएको उनले बताए। बर्खे धान सो जग्गामा ६ क्विन्टल उत्पादन भएको थियो। खानमा मीठो र उत्पादन बढी हुने भएकाले चैते धान खेतीतर्फ आकर्षित भएको चौधरीको भनाइ छ।चौधरीले जस्तै घोडाघोडी नगरपालिकाका ९० किसानले पाँच सय २१ कट्ठामा यसवर्ष चैते धान लगाएका छन्। कतिपय किसानले चैते धान भित्र्याइसकेका छन्। कोही भित्र्याउने तयारीमा छन।

किसानलाई प्रोत्साहन गर्न घोडाघोडी नगरपालिकाले चैते धान खेती गर्नेलाई पुरस्कृत गर्दै आएको छ। पालिकाभित्रका चैते धान रोप्ने ९० किसानलाई प्रतिकट्ठा पाँच सय रूपैयाँका दरले पुरस्कृत गरिएको कृषि शाखा प्रमुख जनकसिंह धामीले बताए।

पछिल्लो समय जमिन बाँझो राख्ने क्रम बढेको र स्थानीयरुपमै उत्पादन गर्न सकिने खाद्यान्नको समेत आयात बढ्दै जान थालेकाले किसानलाई प्रोत्साहित गरी उत्पादनमा जोड दिइएको उनले बताए।

घोडाघोडीसँगै कैलालीका अन्य पालिकाका किसान पनि चैते धान खेतीतर्फ आकर्षित भएका छन्। बर्सेनि बाढीका कारण बर्खे धान भित्र्याउन नपाएपछि सो क्षेत्रका बासिन्दाले चैते धान लगाउन थालेका हुन्।

पछिल्लो समय कैलालीका किसान चैते धान खेतीतर्फ आकर्षित हुँदै गएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले जानकारी दिए। उनका अनुसार भजनी र टीकापुर नगरपालिकाका साथै जोशीपुुर र कैलारी गाउँपालिकामा विगतदेखि नै चैते धान खेती लगाउने गरिएको छ। यी क्षेत्रमा वर्षातमा डुबान हुने भएकाले चैते धान लगाइन्छ।

पछिल्ला वर्षहरुमा जिल्लाको घोडाघोडी, लम्किचुहा नगरपालिका र धनगढी उपमहानगरपालिकामा पनि चैते धान खेतीलगाउने किसानको सङ्ख्या बढ्दै गएको प्रमुख शर्माले बताए। डुबान हुने क्षेत्रमा एक बाली मात्रै धान भित्र्याउने गरिन्छ। अन्य क्षेत्रमा चैते र बर्खे गरेर दुई बाली भित्र्याइने गरेको उनले बताए।

चैते धान लगाउँदा जिल्लाको धान उत्पादनमा वृद्धि भएको प्रमुख शर्माले बताए। उनका अनुुसार कैलाली जिल्लाभर गत वर्ष एक हजार एकसय हेक्टरमा चैते धान लगाइएको थियो। यसवर्ष एक हजार एक सय ५० हेक्टरमा चैते धान लगाइएको छ।

चैते धान प्रति हेक्टर औसतमा पाँच टनका हिसाबले उत्पादन हुुने प्रमुख शर्माले बताए। गत वर्ष पाँच हजार पाँच सय टन धान उत्पादन भएकामा यस वर्ष पाँच हजार सात सय ५० टन धान उत्पादन हुने अनुमान गरिएको छ।

चैते धान खेतीका लागि संघीय र प्रदेश सरकारका साथै स्थानीय तहले पनि विभिन्न कार्यक्रम ल्याएको छ। चैते धान खुला आकाशमुनि पर्याप्त सूर्यको प्रकाश पाउने भएकाले उत्पादन पनि बढी हुने प्रमुख शर्माले बताए। ुयसमा रोग कीराको प्रकोपसमेत कम हुन्छु, उनले भने।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्