सर्लाही । सर्लाहीमा छ सय ९१ हेक्टरमा चैते धानखेती गर्न सक्ने सम्भावना छ तर वार्षिक ५० हेक्टर क्षेत्रफलमा मात्र धानखेती हुँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानका लागि चैते धानखेती गर्न प्रोत्साहन कार्यक्रम सञ्चालन हुँदासमेत क्षेत्रफल बढ्न सकेको छैन ।
परियोजनाका प्रमुख वरिष्ठ कृषि अधिकृत रामबलमप्रसाद साहका अनुसार बर्खे धानखेती यहाँ ४५ हजार ९५० हेक्टरमा हुँदै आएको छ भने प्रत्येक वर्ष एक लाख ६७ हजार २५८ मेट्रिक टन लगभग धान उत्पादन हुँदै आएको छ । अधिकांश समथर भूभाग रहेको यस जिल्ला कृषि उत्पादनका हिसाबले निकै उपयुक्त ठाउँ हो । धान, मकै, गहुँ, कोदो, जौँ यहाँ उत्पादन हुने प्रमुख अन्नबाली हुन् । उनले भने, ‘धान उत्पादनमा अभ्यस्त किसान चैते धानखेतीमा भने आकर्षित हुन सकेका छैनन् ।’
चैते धानखेती बढाउने उद्देश्यसहित परियोजनाले हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका केही वडालाई धान जोन क्षेत्र कायम गरेको थियो । विसं २०७३ बाट सुरु भएको परियोजना नियमानुसार आव २०७७/७८ सम्म कार्यान्वयनमा ल्याइएको थियो । किसानलाई तालिम कृषि उपकरण, सिँचाइ उपकरणलगायत सामग्री अनुदानमा लगानी गरेको परियोजनाले पकेट क्षेत्रमा समेत खेती विस्तार गर्न नसकेको जनाएको हो । पकेट क्षेत्रमा खेती विस्तार हुन नसक्दा यहाँ चैते धानखेती नगन्य मात्रामा भइरहेको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार हाल जिल्लाको ईश्वरपुर, लालबन्दी, बरहथवा, हरिपुर्वा, गोडैता र कबिलासी नगरपालिकामा गरी जम्मा ५० हेक्टरमा चैते धानखेती भइहेको हो । सबैभन्दा धेरै ईश्वरपुरमा २० र लालबन्दी र बरहथवा क्षेत्रमा १०–१० हेक्टरमा चैते धानखेती हुँदै आएको छ । बाँकी पालिकामा पाँच, तीन, दुई हेक्टरमा खेती हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।
सिँचाइ अभाव
चैते धानखेती गर्ने किसानलाई मुख्य समस्या सिँचाइ हुने गरेको छ । सिँचाइ अभावका कारण यहाँ धानखेती बढ्न नसकेको स्थानीय किसानले बताएका छन् । किसानले चैते धानका लागि याममा १३ पटकसम्म पानी पटाउनुपर्ने भएकाले समस्या भएको बताएका छन् । सिँचाइ पर्याप्त नहुँदा खेती गर्न समस्या भएको कबिलासी नगरपालिकास्थित सिर्सियाका किसान रामआधार रायले बताए । ‘यस समयमा धेरै खडेरी पर्छ, खेतमा प्रत्येक तीनदेखि पाँच दिनमा पानी हाल्नुपर्छ । सिँचाइको उपयुक्त प्रबन्ध छैन’, उनले भने ।
जिल्लाका अधिकांश किसानले सुरुमा पम्पसेट र विद्युतीय मोटरबाट पानी हालेर चैते धानखेती गरेका भए पनि समस्या समाधान नभएको उनले जानकारी दिए । यदि स्थानीय तहले सिँचाइका लागि व्यवस्था गरे यहाँ चैते धानखेती र उत्पादन बढ्ने उनको भनाइ छ । बर्खे धानमा भन्दा चैते धानमा रोग कीराको समस्या कम रहने हुँदा धेरै उत्पादन हुने केन्द्र प्रमुख साहले दाबी गरे । उत्पादन अनुपात हेर्ने हो भने, बर्खे धानभन्दा चैते धान धेरै फल्ने गरेको तथ्याङ्क छ ।
यहाँ बर्खे धान प्रतिहेक्टर ३.६४ मेट्रिक टन फल्छ भने चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४.६६ मेट्रिक टन छ । यसले गर्दा चैते धानखेतीबाट किसानले प्रशस्त लाभ लिन सक्ने सम्भावना रहेको जनाइएको छ । चैते धानखेतीको क्षेत्रफल कम्तीमा सय हेक्टर पुर्याउन सके यसले धान आयातलाई केही हदसम्म प्रतिस्थापन गर्न सहयोग पुग्ने उनले बताए । अधिकांश किसानले उपभोगका लागि बर्खे धान प्रयोग गर्ने भएकाले चैते धानबाट दैनिक गर्जो टार्ने गरेको पाइएको छ । आर्थिक उपार्जन प्रमुख लक्ष्य राखेर उत्पादन गरेको धानको मूल्यसमेत उपयुक्त नहुँदा चैते धानखेतीतर्फ किसान आकर्षित हुन नसकेको ईश्वरपुरका किसान रामभरोसी यादवले बताए । सरकारले चैते धानको समेत उचित समर्थन मूल्य तोकिदिनुपर्ने उनको माग छ ।
चैते धानखेतीको समयमा यहाँको मुख्य सिँचाइ आयोजना बागमती सिँचाइदेखि अन्य सानाठूला ब्यारेजमा पानीको सतह घट्ने गरेको छ । यसले गर्दा डिपबोरिङ र रोअल पम्पका भरमा धान खेतमा पर्याप्त पानी उपलब्ध गराउन समस्या हुँदै आएको पर्सा गाउँपालिका–२ का किसान महिन्द्र साहले गुनासो गरे । अहिले भइरहेको खेतीसमेत किसानले डिपबोरिङका भरमा गरिरहेका उनी बताछन् । स्थानीय किसानका लागि तीनै तहका सरकारले दीर्घकालीन हुनेगरी उपयुक्त सिँचाइको व्यवस्था गरिदिने हो भनेमात्र चैते धानखेती बढ्ने उनको भनाइ छ ।