नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा आलुखेती गरिने क्षेत्र र उत्पादन बर्सेनि बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रसँगै स्थानीय पालिकाले आलुखेती प्रवर्द्धन अन्तर्गत अनुदान कार्यक्रम सञ्चालन गर्न थालेपछि आलुखेतीतर्फ किसान आकर्षित भएका छन् ।
जिल्लामा यस आर्थिक वर्षमा तीन हजार दुई सय पाँच हेक्टर क्षेत्रफलमा आलुखेती भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताएका हुन् । यस वर्ष ५८ हजार चार सय १३ मेट्रिक टन आलु उत्पादन भएको छ ।
गत आव तीन हजार एक सय ७५ हेक्टरमा आलुखेती भएकामा यस वर्ष ३० हेक्टर जमिनमा थप विस्तार भएको छ उनले भने ‘गत वर्ष जिल्लामा ५७ हजार तीन सय ५४ मेट्रिक टन आलु उत्पादन भएको थियो, गत वर्षभन्दा यस वर्ष उत्पादन एक हजार ५९ मेट्रिक टनले बढेको छ ।’
जिल्लामा व्यावसायिक आलुखेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा देखिएको छ । पछिल्लो चार वर्षको आलुखेती गरिने क्षेत्रफल र उत्पादन हेर्दा प्रत्येक वर्ष वृद्धि हुँदै गएको देखिएको छ । जिल्लामा आव २०७८र७९ मा तीन हजार एक सय १५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिँदा ५० हजार एक सय ५२ मेट्रिक टन उत्पादन भएको थियो । आव २०७७÷७८ मा तीन हजार एक सय १० हेक्टर क्षेत्रफलमा ५२ हजार नौ सय ९० मेट्रिक टन उत्पादन भएको थियो ।
आलु उत्पादनका हिसाबले नवलपरासी (बर्दघाट सुस्तापूर्व) आत्मनिर्भर रहेको छ सूचना अधिकारी काफ्लेले भने ‘सरकारी तहबाट लगानी वृद्धि हुँदा किसान आलुखेतीतर्फ आकर्षित भएका छन् ।’ जिल्लाको मध्यविन्दु, कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिका क्षेत्रमा आलु राम्रो उत्पादन हुने गरेको छ । सो क्षेत्रमा व्यावसायिक रूपमा आलु उत्पादन गर्ने कृषक र कृषि समूहको सङ्ख्या उल्लेख्य रहेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए । किसानले उत्पादन गरेको आलु स्थानीय बजारका साथै बुटवल, नारायणगढ र काठमाडौंलगायतका बजारमा जाने गरेको छ ।