काठमाडौं । देशको अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा बागमतीको रहने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (आव) ०८०(८१ मा प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्यांकले देशको अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा बागमती प्रदेशको रहेको देखाएको हो ।
कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा देशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा बागमती प्रदेशले ३६.४ प्रतिशत योगदान गर्ने देखिएको छ । त्यस्तै, कोशीको १५.८, लुम्बिनीको १४.३, मधेशको १३.१, गण्डकीको ९.१, सुदूरपश्चिमको ७.१ र कर्णाली प्रदेशको ४.३ प्रतिशत योगदान रहने कार्यालयले अनुमान गरेको छ ।
कार्यालयले कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरमा भने सबैभन्दा अगाडि गण्डकी प्रदेश रहेको उल्लेख गरेको छ । चालु आवको प्रारम्भिक अनुमानअनुसार उपभोक्ता मूल्यमा प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरमा गण्डकीको सबैभन्दा धेरै ४.५५ प्रतिशत रहने कार्यालयले जनाएको छ ।
त्यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशमा ३.३९ प्रतिशत आर्थिक वृद्धिदर हुने कार्यालयले प्रारम्भिक अनुमान गरेको छ । कोशीको ३.५१, मधेशको ३.७८, बागमतीको ३.९६, लुम्बिनीको ४.०५ र सुदूरपश्चिमको आर्थिक वृद्धिदर ३.४१ प्रतिशत हुने कार्यालयले अनुमान गरेको छ ।
आर्थिक क्रियाकलापमा बागमतीमा व्यापार, अन्यमा भने कृषि अगाडि
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (आव) ०८०/८१ मा प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्यांकअनुसार भएका आर्थिक क्रियाकलापमध्ये बागमती प्रदेशमा खुद्रा व्यापार अगाडि देखिएको हो ।
बागमती प्रदेश बाहेक अन्य प्रदेशमा भने कृषि सम्बन्धी क्रियाकलाप बढी रहेको तथ्यांकले देखाएको छ । तथ्यांक कार्यालयकाअनुसार बागमती प्रदेशमा घरजग्गा सम्बन्धी कारोबारको हिस्सा दोस्रो स्थानमा रहेको छ ।
जबकी कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो स्थानमा रहेको छ ।
चालु आवमा औद्योगिक क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर राष्ट्रिय तहमा आवास तथा भोजन सेवाको लुम्बिनी प्रदेश बाहेकका सबै प्रदेशमा सबैभन्दा धेरै रहने प्रारम्भिक अनुमान कार्यालयले गरेको छ । लुम्बिनी प्रदेशमा भने विद्युत क्षेत्रको वृद्धिदर सबैभन्दा धेरै रहने छ ।
कार्यालयका अनुसार कोशी प्रदेशमा कृषिको ३२.८०, मधेशमा ३५.१९, गण्डकीमा २५.४३, लुम्बिनीमा २९.२७, कर्णालीमा २९.३२ र सुदूरपश्चिम प्रदेशमा ३३ प्रतिशत योगदान रहेको रहेको छ । बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा भने सबैभन्दा धेरै २१.५३ प्रतिशत खुद्रा व्यापार, मोट भेहिकल मर्मतको रहेको छ ।