ललितपुर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय लुभु, ललितपुरले वित्तीय संस्थामा आवद्ध केन्द्र प्रमुखहरु तथा अभिभावकहरुको उपस्थितिमा एक दिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ । एक सदस्य एक लघुवित्त भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रम ग्राहक सदस्यहरुको चेतनामा वृद्धि, सामूहिक भावनाको विकास, नेतृत्व क्षमताको विकास, बचत गर्ने बानीको विकास, ग्राहक सदस्यहरुलाई उद्यमी बनाउने उपायहरु, डिजिटल बैकिङ्ग सेवा, बहुबैकिङ्गबाट बच्ने उपायहरु जस्ता विषयमा केन्द्रित थियो ।
कार्यक्रममा प्रमुख अतिथि महालक्षमी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनले स्वावलम्बनले ग्राहक सदस्यहरुलाई सानो—सानो आकारको बचत गर्ने बानीको विकास गराउने, सरसफाई तथा वातावरण प्रति सजग गराउने, बहुबैकिङ्गबाट बच्न सिकाउने, आवश्यकता अनुसारको कर्जा कारोवार गरी उद्यमशील बनी आर्थिक रुपमा सक्षम बनाउने जस्ता कार्यहरु गरी समाजलाई सकारात्मक दिशा तर्फ अगाडी बढाएकोमा संस्थाको प्रशंसा गरेका थिए ।
संस्थाका नायब महाप्रबन्धक गोविन्द चापागाईले लघुवित्त संस्थाले ग्रामीण समुदायको जीवनस्तर उकास्न प्रमुख भूमिका निर्वाह गरेको बताए । यस वित्तीय संस्थाबाट उपभोग गरेको कर्जाको सदुपयोग गरी आफ्ना व्यपार व्यवसाय लाई सफल बनाउन उनको सुझाव छ । यस संस्थाले आफ्ना कारोवारहरुलाई प्रविधिमैत्री बनाई पारदर्शी बनाउनेतर्फ अगाडि बढेको बताए ।
१५० जना भन्दा बढी सहभागी सदस्यहरुको उपस्थितिमा सम्पन्न कार्यक्रमा संस्थाको तालिम विभाग प्रमुख मोहितनारायण यादव तथा शाखा कार्यालय लुभुका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।










