म्याग्दी ।रघुगङ्गा गाउँपालिका–४ दग्नाममा महिलाको अगुवाइमा एक करोडभन्दा बढी खर्चेर सामुदायिक भवन निर्माण भएको छ ।
दग्नामको नाङ्गीदेवी आमा समूहले गाउँपालिका, प्रदेश सरकार र दाताको सहयोगका साथै नाचगान गरेर जुटाएको रकमबाट दुईतले सभाहलसहितको भवन निर्माण गरेका हुन् ।उक्त समूहकी अध्यक्ष मीनकुमारी गर्बुजाले सामुदायिक भवन निर्माणपछि भेला, बैठक, तालिम, गोष्ठी, छलफलका लागि व्यक्तिको घर, विद्यालयमा पुग्नुपर्ने समस्या हटेको बताइन् । मगर बाहुल्य दग्नामका करिब एक सय ५० परिवार सो भवनबाट लाभान्वित भएका छन् ।
भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले २० लाख, रघुगङ्गा गाउँपालिकाले ४५ लाख, रघुगङ्गा हाइड्रोपावरले पाँच लाख, सामाजिक विकास कार्यालयले ७५ हजार रुपैयाँ बराबरको फर्निचर सहयोग गरेका छन् ।आमा समूहले गाउँमा आउने पाहुनालाई स्वागतका लागि गर्ने नाचगान, चन्दा र आन्तरिक कोषको पाँच लाख १५ हजार पनि भवन निर्माणमा परिचालन गरेको भवन निर्माण उपभोक्ता समिति अध्यक्ष दुर्गा गर्बुजाको भनाइ छ ।










