मकवानपुरको बकैया गाउँपालिका–१२ स्थित डाँडामा सडक ट्रयाक खोलिएको छ ।
वर्षौँदेखि बाटोघाटोको समस्या भोग्दै आएका स्थानीयबासीको सुविधाका लागि सहरी विकास तथा भवन कार्यालय मकवानपुरले १ किलोमिटर नयाँ ट्रयाक खोलेको हो ।जितपुर–फेदी सडक सञ्चालनका लागि ट्रयाक खोलिएको कार्यालय प्रमुख इन्जिनियर भूमिनन्द ढकालले जानकारी दिए । नयाँ ट्रयाक खोलिएसँगै सो क्षेत्रबासीलाई सदरमुकाम हेटौँडालगायत बजार आवतजावत गर्न सहज भएको छ ।
‘डाँडामा बस्ती छ, तर बाटोघाटो नहुँदा हामी असाध्यै समस्यामा थियौँ', बकैया गाउँपालिका–१२ का नीरज घलानले भने, 'अब बाटोका लागि ट्रयाक खोलिएपछि आवतजावत गर्न सहज भएको छ ।' यस सडकलाई हेटौँडासम्म जोडिदियो भने सधैँका लागि समस्या समाधान हुने उनको भनाइ छ ।
सो कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा मकवानपुर र चितवनका ५० किलोमिटर सडक कालोपत्र गरेको छ । सो कार्यालयका अनुसार आव २०८०/८१ मा मकवानपुरमा २८ किलोमिटर र चितवनका २२ किलोमिटरमा कालोपत्र गरिएको हो । ती दुवै जिल्लाका २५ वटा सडकमा कालोपत्र गरिएको कार्यालय प्रमुख ढकालले जानकारी दिए ।
उनका अनुसार सो आवमा मकवानपुर र चितवनमा निर्माणाधीन ४ वटा कल्भर्टको निर्माण सम्पन्न भएको छ । पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले आव २०८०/८१ मा चितवनको माडी र रत्ननगरमा दुइटा पार्कसमेत निर्माण गरिएको प्रमुख ढकालले बताए ।










