बाजुरा । बाजुराका ६९ वडामध्ये १२ वटा वडामा नेपाल विद्युत् प्राधिकरणले लाइन विस्तार गरी विद्युत् सेवा प्रवाह गर्दै आएको छ ।
प्राधिकरणले साविकका २७ गाउँ विकास समितिका ६९ वडामध्ये साविकका चार गाउँ विकास समिति र हालका १२ वडामा मात्र विद्युत् सेवा विस्तार गरेको हो ।
हालै नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनअनुसार यहाँका नौ स्थानीय तहमध्ये गौमुल गाउँपालिकामा मात्र विद्युत् सेवा विस्तार हुन बाँकी रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । जिल्लामा चार नगरपालिका र पाँच गाउँपालिका गरी नौ स्थानीय तह छन् । तीन पालिकाका ६९ वडामध्ये १२ वडामा मात्र राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा विस्तार भएको छ ।
सदरमुकामसमेत रहेको बडिमालिका नगरपालिका–६ वडा, बुढीगङ्गामा तीन वडा र खप्तड छेडेदह गाउँपालिकाका तीन वडामा मात्र विद्युत् सेवा विस्तार भएको प्राधिकरण वितरण केन्द्रका सूचना अधिकारी गुणराज भट्टले जानकारी दिए ।
वितरण केन्द्रको तथ्याङ्कमा जिल्लाका १२ वडामा मात्र विद्युत् सेवा विस्तार भएको तथ्याङ्क भए पनि प्राधिकरण केन्द्रीय कार्यालयले भने एक पालिकामा मात्र विद्युत् सेवा विस्तार हुन नसकेको तथ्याङ्क सार्वजनिक गरेर त्रुटि गरेको हो ।
सूचना अधिकारी भट्टका अनुसार बूढीगङ्गा नगरपालिका–१, २ र ३, बडिमालिका नगरपालिका–१, २, ३, ७, ८ र ९ मा मात्र विद्युत्को लाइन विस्तार गरी सेवा प्रवाह भइरहेको छ । त्यसैगरी खप्तड छेडेदह गाउँपालिका–५ र ७ पूरै तथा वडा नं ६ का ५५ परिवारलाई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।










