समय : ०६:३१ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

पहिरोले बन्दीपुरको बुद्धसिंह मार्ग एक सातादेखि अवरुद्ध

अर्थ विशेष | श्रावण ३० गते २०८१

तनहुँ ।तनहुँको बन्दीपुर गाउँपालिका–६ ढापमा पहिरो जाँदा बुद्धसिंह मार्ग एक सातादेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । यसअघि पनि वर्षाका बेला बुद्धसिंह मार्गका विभिन्न स्थानमा पहिरो जाँदा आवागमन अवरुद्ध हुँदै आएको थियो ।

बुद्धसिंह मार्गअन्तर्गत अन्य स्थानमा पनि पहिरो गएको भन्दै स्थानीय सिद्धान्त गर्जा मगरले पहिरोले सवारीसाधन सञ्चालनमा समस्या भइरहेको बताए ।स्थानीयवासीले ढापमा मानिस हिँडडुल गर्न मिल्ने गरी राजमार्गका केही पहिरो सफा गरेका छन् । आज बिहान स्थानीयले पहिरोले खसेको ढुङ्गा पन्छाएर हिँडडुल गर्न मिल्ने बाटो बनाएको मगरले बताए ।

गण्डकी प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ ।

उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिकाका हजारौँ नागरिक दैनिक आवतजावत गर्ने गर्दछन् ।

गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकका रुपमा उक्त खण्डलाई लिने गरिएको छ ।

उक्त मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्की पुल निर्माणाधीन अवस्थामा छ । सो पुल सम्पन्न पश्चात् बाटो छोटिन्छ ।

पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो दूरी पर्ने स्थानीय मगरले जानकारी दिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्