चितवन । रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव भेटिएको छ । ती नदीमा चितवनतर्फ भेटिएका शवलाई भरतपुर अस्पतालमा सफाइ गरी तस्बिर खिचेर ट्यागसहित ‘डेड बडी ब्याग’मा राखी शव व्यवस्थापन तथा पहिचान केन्द्रमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका शवमध्ये ७४ पुरुष, ४१ महिला, छ बालक र दुई बालिकाको छ ।
त्यस्तै, ५५ जनाको शरीरका अङ्गहरु भेटिएका छन् । तीमध्ये २२ वटा पहिचान केन्द्रमा लगिएको छ भने बाँकी भरतपुर अस्पतालमा सफा गरेर राखिएको छ । केही शवको नदीमा मुचुल्काको काम भइरहेको उनले जानकारी दिए । तस्बिर खिचिएका शवको पहिचानका लागि ‘डिस्प्ले’ सुरु गरिएको छ । आफन्तहरूले सो ‘डिस्प्ले’मा हेरेर पहिचान गर्ने उपरीक्षक पौडेलले जानकारी दिए । ती शवको तस्बिर नेपाल प्रहरीको पोर्टलमा पनि राखिने उनले जानकारी दिए ।
भरतपुर महानगरपालिका–१० स्थित भरतपुर अस्पताल नजिकै चितवन उद्योग सङ्घको आडमा रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनलाई शव संरक्षण तथा पहिचान केन्द्रका रूपमा प्रयोग गरिएको छ । अस्पतालमा शव राख्न पर्याप्त स्थान नभएपछि उक्त भवनलाई शव संरक्षण तथा पहिचान कक्षका रूपमा प्रयोग गरिएको छ ।
पहिचानका आधारमा शव बुझ्न आउने व्यक्तिको आधिकारिकता परिचयपत्रलगायत आवश्यक कागजातबाट यकिन गरिने उनले जानकारी दिए । पहिचान भएपछि पुनः भरतपुर अस्पताल ल्याएर शव परीक्षण गरिनेछ ।
चितवनतर्फका त्रिशूली र नारायणी किनारमा आज पनि बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले शवको खोजी गरिरहेका छन् । स्थानीय र बेपत्ताका परिवारले नदी किनारमा शव भेटेपछि सुरक्षा निकायलाई खबर आउने क्रम पनि चलिरहेको उनले जानकारी दिए ।










