समय : ११:०१ am | मङ्गलबार , भाद्र ९ गते २०८३

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को हप्ता बस्ती स्थानान्तरण हुने

अर्थ विशेष | भाद्र ९ गते २०८३

कास्की । पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुङ्गो लागेको छ ।

महानगरले बसपार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नका लागि निवेदन दिनका लागि सूचना गरेको थियो । त्यसपछि दाबी–विरोध, संशोधन निवेदन तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरणअनुसार ३ सय २५ परिवार भूमिहीनको सूचीमा परेका छन् भने २४२ परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले बताए ।

उनका अनुसार प्रारम्भिक रूपमा भूमिहीन दलितका २ सय, भूमिहीन सुकुमबासीका २ सय ४८ र अव्यवस्थित बसोबासीका १ सय १६ निवेदन प्राप्त भएका थिए । वडाले सार्वजनिक गरेको सूचनाअनुसार दाबी–विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि आवश्यक छानबिन र परीक्षण सम्पन्न भएपछि अन्तिम सूचीमा परिवर्तन गरिएको हो ।
अन्तिम विवरणअनुसार १ सय ४४ परिवार भूमिहीन दलित र १ सय ८१ परिवार भूमिहीन सुकुमबासी गरी कूल ३ सय २५ परिवार भूमिहीन कायम भएका छन् । त्यस्तै, छानबिनपछि २ सय ४२ परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका छन् ।

वडा तहको सहजीकरण समितिले दाबी–विरोध र छानबिनपछिको अन्तिम विवरण वडा समितिसमक्ष सिफारिस गरेको छ । वडा समितिको बैठकले सहजीकरण समितिको प्रतिवेदनलाई नियमानुसार ग्रहण गर्दै आवश्यक सिफारिससहित पोखरा महानगरपालिकामा पठाउने निर्णय गरेको जनाएको छ ।

महानगर प्रमुख आचार्यले बसपार्क क्षेत्रमा रहेका वास्तविक भूमिहीन तथा सुकुमबासी परिवारको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइने बताए । अन्तिम विवरण टुङ्गो लागेसँगै अब महानगरपालिकाको कार्यपालिकाबाट आवश्यक निर्णय गरी जिल्ला समितिमा सिफारिस पठाइने उनले बताए ।

‘वास्तविक भूमिहीन, भूमिहीन दलित र सुकुमबासी परिवारको पहिचान गरी कानुनबमोजिम व्यवस्थापन गर्ने प्रक्रिया अब निर्णायक चरणमा पुगेको । हामी कसैलाई अन्याय नहोस् र वास्तविक पीडितले न्याय पाऊन् भन्ने उद्देश्यका साथ छानबिन र दाबी–विरोधको प्रक्रिया पूरा गरेका छौँ,’ प्रमुख आचार्यले भने ।

अब पोखरा महानगरपालिकाको कार्यपालिकाले प्रतिवेदनमाथि छलफल गरी यसै साता जिल्ला समितिमा सिफारिस गर्ने तयारी गरेको छ । त्यसपछि बसपार्क क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुमबासी तथा अन्य बसोबासी परिवारको व्यवस्थापन र स्थानान्तरण प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ ।

नगरप्रमुख आचार्यले प्रक्रिया समयमै सम्पन्न भएमा अर्को सातादेखि बसपार्क क्षेत्रको सुकुम्बासी बस्ती स्थानान्तरणको काम अघि बढ्ने बताए । उनले भने, ‘महानगरपालिकाले सबै सरोकारवाला निकायसँग समन्वय गरेर व्यवस्थित रूपमा स्थानान्तरणको काम अघि बढाउँछ ।’

बसपार्कभित्रका सुकुमबासीले भने निष्पक्ष छानबिन गरी वास्तविक सुकुमबासीको व्यवस्थापनमा आफूहरुले सघाउने प्रतिबद्धता जनाएका छन् । भूमिहीन सुकुमबासी सरोकार समितिका संयोजक प्रेम गुरुङले विकासका लागि सुकुमबासी बाधक नबन्ने र बसपार्क खाली गर्नुअघि आफूहरुको व्यवस्थापन हुनुपर्ने बताए ।

‘हाम्रो कारणले मात्र बसपार्क बन्न नसकेको होइन । धेरै कारण छन् यसमा । हामी बसपार्क बनाउनका लागि महानगरलाई सहयोग गर्न तयार छौँ । हाम्रो वैकल्पिक व्यवस्थापन पहिला हुनुपर्छ,’ गुरुङले भने । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा जग्गा अधिग्रहण गरिएको थियो । योजना बनेको पाँच दशकसम्म बसपार्क नबन्दा पृथ्वीचोक क्षेत्रको सडकपेटी र फुटपाथबाट नै लामो तथा छोटो दूरीका बसहरु गन्तव्यका लागि छुट्ने बाध्यता थियो ।

बसपार्कभित्रको जग्गा सुकुमबासी र अन्य केही व्यक्तिले अतिक्रमण गरेपछि बसपार्क बन्न सकेको थिएन । पछिल्लो समय महानगरले बसपार्कभित्रका व्यापारिक सटर कवलसमेत हटाएको छ । महानगरले बसपार्कको जग्गा खाली गरेपछि दातृ निकायको सहयोगमा सुविधासम्पन्न बसपार्क बनाउने योजना सार्वजनिक गरिसकेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्