समय : ०३:१६ pm | शनिबार , भाद्र ६ गते २०८३

बर्दियादेखि बालकोटसम्म, डल्लीको चिया पसल : बिपना खत्रीको प्रेरणादायी यात्रा

अर्थ विशेष | भाद्र ६ गते २०८३

मनोरथ नेपाल/भक्तपुर । मेहनत, लगनशीलता र गुणस्तरीय सेवाप्रतिको प्रतिबद्धताले ३५ वर्षीया बिपना खत्रीलाई भक्तपुरको बालकोटमा सफल महिला व्यवसायीको रूपमा स्थापित गरेको छ । बर्दिया स्थायी घर भएकी खत्री पछिल्लो समय भक्तपुरको बालकोटमा बस्दै आएकी छिन् ।

कौसलटार बाट १.५ किलोमिटर दक्षिण तर्फ बालकोट चोक नजिक ४ जना दिदीभाइ र ३ जना स्टाफ गरी ७ जनाको अथक प्रयासबाट खत्रीले करिब ६ वर्षअघि सुरु गरेको ‘डल्लीको चिया पसल’ अहिले चिया पारखी तथा स्थानीय ग्राहकबीच लोकप्रिय बन्दै गएको छ । सामान्य चिया पसलबाट सुरु भएको उनको व्यवसाय अहिले चियासँगै विभिन्न स्थानीय दुग्धजन्य उत्पादन दुध दही मोही पनिर पाइने स्थानका रूपमा समेत परिचित छ ।

डल्लीको चिया पसलको मुख्य आकर्षण यसको विशेष स्वादको चिया हो । चिया मसला, शुद्ध गाईको दूध र चियापत्तिको सही मिश्रणलाई प्राथमिकता दिइने भएकाले यहाँको चियाले ग्राहकको ध्यान तानेको खत्री बताउँछिन् ।

पसलमा चियासँगै मोही, किसानले उत्पादन गरेको चीज तथा स्थानीय रूपमा संकलन गरिएको ताजा गाईको दुध पनि उपलब्ध हुन्छ । चियाको लागी दुध बालकोटबाट जम्मा हुन्छ अन्यको लागी खोपासिबाट ल्याउने गरिन्छ । स्थानीय किसानबाट दूध संकलन गरी प्रयोग गर्ने भएकाले पसलले स्थानीय उत्पादनलाई समेत प्रोत्साहन गर्दै आएको छ ।

चियाको स्वाद बिग्रने अनि अश्वसथ हुने भएकोले पुरानो चिया नपकाउने उनि बताउँछिन् । खत्रीका अनुसार चिया पसल बिहानको समयमा मात्रै न्यूनतम ४ सय कप चिया बिक्री हुने गर्छ । दिनभरमा भने सामान्यतया करिब १ हजार कप चिया बिक्री हुने गरेको उनको भनाइ छ ।

चिया पसल सँगै बिपना खत्री पनि अहिले ‘डल्ली’ नामले परिचित भएकी छन् । स्थानीय तथा नियमित ग्राहकहरूले उनलाई मायाले ‘डल्ली’ भनेर बोलाउने गरेका छन । आफूलाई यसरी बोलाउँदा उनी नरिसाउने, बरु उक्त नाम आफ्नो व्यवसायसँग जोडिएको पहिचान बनेको बताउँछिन् ।

‘डल्ली’ अहिले पसलको नाम मात्र नभई स्थानीयस्तरमा एउटा परिचित पहिचानजस्तै बनेको छ । बालकोट क्षेत्रमा कसैलाई भेट्न वा चिया खान जाने ठाउँ सोध्दा डल्लीको चिया पसल लाई भेटघाटको स्थानका रूपमा समेत सुझाउने गरिएको खत्री बताउँछिन् ।

पछिल्लो समय उनको व्यवसाय सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट समेत चर्चामा आउन थालेको छ । स्थानीयस्तरमा लोकप्रिय हुँदै गएको डल्लीको चिया पसल अहिले भक्तपुर बाहिरका मानिसहरूबीच पनि परिचित बन्न थालेको छ ।

बिपना खत्रीको व्यवसायिक यात्रा सानो लगानी र सामान्य सुरुवातबाट पनि निरन्तर मेहनत, गुणस्तर र ग्राहकसँगको राम्रो सम्बन्धका माध्यमबाट व्यवसायलाई स्थापित गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ । उनको चिया पसलमा दुध चियाको २५ रुपैयाँ, कटिङ चियाको १५ रुपैयाँ, कालो चियाको १५ रुपैयाँ अनि एक गिलास मोहीको २५ रुपैयाँ र दही प्रती गिलास ४० रुपैयाँ पर्छ ।

६ वर्षअघि सुरु भएको डल्लीको चिया पसल आज दैनिक सयौँ ग्राहकको रोजाइ बन्नु खत्रीको मेहनत र व्यवसायप्रतिको समर्पणको परिणाम हो । चियाको स्वादसँगै स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै अघि बढेकी बिपनाको यो यात्रा धेरै महिला उद्यमीका लागि प्रेरणाको स्रोत बन्न सक्छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्