समय : ०२:४७ pm | शनिबार , भाद्र ६ गते २०८३

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

अर्थ विशेष | भाद्र ६ गते २०८३

काठमाडौं । चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा ३१ दशमलव शून्य चार प्रतिशतले आयात वृद्धि भएको हो ।

गत आवको साउनमा एक खर्ब ४३ अर्ब चार करोड छ लाख ६९ हजार मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो । साउनमा ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ ।

गत साउनको तुलनामा चालु आवको सोही अवधिमा निर्यात ६१ दशमलव ७२ प्रतिशतले बढेको छ । गत आवको साउनमा भने २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको भन्सार विभागले जनाएको छ ।

साउन महिनामा आयात भएका मुख्य वस्तु

चालू आर्थिक वर्षको साउन महिनामा नेपालमा आयात भएका प्रमुख १० वस्तुहरूमा सबैभन्दा अगाडि कच्चा भटमासको तेल रहेको छ । जसको कुल आयात मूल्य १८ अर्ब ४० करोड ४२ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी सो अवधिमा दोस्रो धेरै आयात हुने वस्तुमा डिजेल रहेको छ, जसको आयात मूल्य १३ अर्ब ८५ करोड ४५ लाख ४६ हजार रुपैयाँ पुगेको छ भने खाना पकाउने एलपी ग्यास ८ अर्ब ४६ करोड ९२ लाख २९ हजार रुपैयाँ बराबरको भएको छ ।

साथै, साउन महिनामा कृषि प्रयोजनका लागि ७ अर्ब ८६ करोड ९३ लाख रुपैयाँ बराबरको डीएपी मल, ६ अर्ब ८८ करोड २४ लाख ९० हजार रुपैयाँ मूल्य बराबरको पेट्रोल, ४ अर्ब ६१ करोड ५५ लाख १६ हजार रुपैयाँ बराबरको कच्चा फलाम, ४ अर्ब ३९ करोड २१ लाख ५४ हजार रुपैयाँ बराबरको युरिया तथा अन्य मल र ३ अर्ब ७ करोड ७ लाख २४ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ ।

साउन महिनामा निर्यात भएका मुख्य वस्तु

साउन महिनामा निर्याततर्फ पनि प्रशोधित भटमासको तेल सबैभन्दा अगाडि रहेको विभागको तथ्यांकले देखाएको छ, जसको आयात पनि सबैभन्दा धेरै रहेको छ । जसको कुल निर्यात मूल्य १७ अर्ब ९९ करोड ३४ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, सो अवधिमा १ अर्ब २९ करोड २९ लाख ३९ हजार रुपैयाँ मूल्य बराबरको प्रशोधित पाम तेल, १ अर्ब २० करोड ७५ लाख ४७ हजार रुपैयाँ बराबरको प्रशोधित सूर्यमुखी तेल र घरायसी तथा भान्छा कोठामा प्रयोग हुने स्टेनलेस स्टिलका सामानहरू १ अर्ब १५ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

साथै, विभागको तथ्यांकले साउन महिनामा जुटबाट उत्पादित कपडा तथा जुटजन्य सामग्रीहरू १ अर्ब ६ करोड ६२ लाख ९५ हजार रुपैयाँ मूल्य बराबरको, नेपाली हस्तकला र परम्परागत ऊनी गलैँचाहरू ८४ करोड ८९ लाख ३१ हजार रुपैयाँ बराबरको, ७० करोड ३३ लाख ४ हजार रुपैयाँ बराबरको पोलिएस्टर धागो र अलैंची ६७ करोड ५२ लाख १९ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्