समय : ०२:४९ pm | सोमबार , भाद्र १ गते २०८३

सरकार र वैदेशिक रोजगार व्यवसायीबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

अर्थ विशेष | भाद्र १ गते २०८३

काठमाडौं । वैदेशिक रोजगार क्षेत्रका विभिन्न समस्या समाधानका लागि आन्दोलनरत नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र सरकारबीच सहमति भएको छ ।

सहमति भएसँगै संघले घोषणा गरेका सम्पूर्ण दबाबमूलक र विरोधका कार्यक्रमहरू आजैका मितिबाट फिर्ता लिएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गत साउन २२ गते विभिन्न १५ बुँदे माग राखी ध्यानाकर्षण कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

संघले आफ्ना माग पूरा नभए आजदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएको थियो ।

व्यवसायीहरूको उक्त चेतावनी र मागका सम्बन्धमा युवा, श्रम तथा रोजगार मन्त्रालयमा माननीय मन्त्री र सचिवको उपस्थितिमा व्यवसायीका प्रतिनिधिहरूसँग आज घनीभूत छलफल भएको थियो ।

छलफलका क्रममा संघले राखेका अधिकांश मागहरू नीतिगत सम्बोधनका विषय भएकाले वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश भइरहेको जानकारी मन्त्रालयले गराएको छ ।

वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउने गरी सो संशोधन प्रक्रियालाई यथाशीघ्र टुङ्ग्याउन मन्त्रालय र संघ दुवैले अधिकतम प्रयत्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै, व्यवसायीहरूले उठाएका अन्य विषयहरूको समाधानका लागि कानुन बमोजिम थप प्रमाण र कागजातसहित वैदेशिक रोजगार विभागमा अनुरोध गरेमा विभागबाट आवश्यक प्रशासनिक सहजीकरण गरिने सहमति भएको छ ।

विभागको निर्णयबाट समाधान नभएमा रीतपूर्वक मन्त्रालयमा पुनरावेदन दिन सकिने प्रावधान समेत रहेको स्पष्ट पारिएको छ ।

मन्त्रालयसँगको सकारात्मक छलफल र माग सम्बोधनको प्रतिबद्धतापछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजैका मितिबाट लागू हुने गरी आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

बैठकमा संघका अध्यक्ष, सल्लाहकार तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्