समय : ११:२२ am | सोमबार , भाद्र १ गते २०८३

आजदेखि एलपी ग्यासको बिक्रीवितरण नियमित प्रक्रियामार्फत

अर्थ विशेष | भाद्र १ गते २०८३

काठमाडौं । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्रीवितरण नियमित प्रक्रियामार्फत सञ्चालन हुने जनाएको छ। निगमले सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका आधिकारिक विक्रेतामार्फत ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ।

निगमले आइतबार जारी गरेको सूचनाअनुसार उपभोक्ताले आफूलाई पायक पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न सक्नेछन्। बिक्री–वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन ग्यास उद्योग तथा विक्रेताका लागि विभिन्न व्यवस्था गरिएको निगमले जनाएको छ।

ग्यास उद्योगले दैनिक बिक्री गर्ने विक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र उपलब्ध सिलिन्डरको संख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजेसम्म निगमलाई उपलब्ध गराउनुपर्नेछ।

त्यस्तै, ग्यास विक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाणसँगै उपभोक्ताको नाम र सम्पर्क नम्बरको विवरण दैनिक रूपमा तयार गरी सम्बन्धित उद्योगलाई अनिवार्य उपलब्ध गराउनुपर्नेछ। उद्योगले उक्त विवरण सोही दिन नेपाल आयल निगमलाई बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

निगमले ग्यास वितरण गर्दा अत्यावश्यक घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकता दिन निर्देशन दिएको छ।

ग्यासको ढुवानी तथा वितरणमा सुरक्षा व्यवस्थाका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयमार्फत सहजीकरण गर्न अनुरोध गरिएको निगमले जनाएको छ।

त्यसैगरी, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको समन्वयमा निगमबाट खटिएका कर्मचारीसमेत सहभागी संयुक्त टोलीले ग्यास बिक्री–वितरणको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ।

नजिकको आधिकारिक विक्रेताबाट कुनै कारणले ग्यास प्राप्त गर्न नसकेका तथा तत्काल ग्यास आवश्यक भएका उपभोक्ताले नेपाल आयल निगमको क्विक रेस्पोन्स टिममा सम्पर्क गर्न सक्नेछन्।

निगमले यसका लागि ९८५१४५५१२४ र ९८५१४५५१२८ नम्बर उपलब्ध गराएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्