समय : ०१:५९ pm | बिहिबार , असार ३२ गते २०८३

कृषकलाई अनुदानमा ‘दूध चिस्यान ट्याङ्की’ वितरण

अर्थ विशेष | असार ३२ गते २०८३

कास्की । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कास्कीले आर्थिक वर्ष २०८२–८३ मा कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र कृषकको आय आर्जनमा टेवा पु¥याउने विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रमअन्तर्गत दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना एवं सुदुढीकरण कार्यक्रमले किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ । पोखरा महानगरपालिका–२५ हेमजाका व्यावसायिक कृषक एक हजार लिटर क्षमताको ‘चिलिङ भ्याट’ ‘दूध चिस्यान ट्याङ्की’ अनुदानमा पाएपछि उत्साहित बनेका छन् । किसान बहुउद्देश्यीय सहकारी संस्थामा आबद्ध कृषकले साझेदारीमा पाँच लाख रुपैयाँ लगानीमा ‘चिलिङ भ्याट पाएपछि दूधको गुणस्तरदेखि आम्दानीसम्म सकारात्मक प्रभाव परेको उनीहरुको भनाई छ ।

दुग्ध उत्पादनलाई व्यावसायिक, गुणस्तरीय र प्रतिस्पर्धी बनाउन प्रदान गरिएको ‘चिलिङ भ्याट’ सञ्चालनमा आएपछि दूधको गुणस्तर जोगिनुका साथै सङ्कलन, भण्डारण र बजारीकरणमा उल्लेखनीय सहजता आएको सहकारी संस्थाका व्यवस्थापक पुष्पराज त्रिपाठीले बताए ।

उनका अनुसार सहकारीका १ सय २० जना कृषक आबद्ध छन् र दैनिक एक हजार २ सय लिटर दूध सङ्कलन हुने गर्दछ । सहकारीले सङ्कलन गर्ने दूध जिल्ला सहकारी सङ्घमा बिक्री गर्दै आएको छ । ‘यसअघि उत्पादन भएको दूध तत्काल बिक्री र बजार लैजान नसक्दा नसक्दा बिग्रिने, फाल्नुपर्ने वा कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता थियो । अब भने दूधलाई आवश्यक तापक्रममा सुरक्षित राख्न सकिने भएकाले गुणस्तर कायम रहनुका साथै बजारसम्म ढुवानी गर्न पर्याप्त समय मिलेको छ । यसबाट कृषकलाई उचित मूल्य प्राप्त गर्न र आर्थिक नोक्सानी कम गर्न सहयोग पुगेको छ,’ त्रिपाठीले भने ।

यसअघि सहकारीमा ५ सय लिटर क्षमताको चिलिङ भ्याट रहे पनि व्यावसायिक कृषक बढेसँगै दूध चिस्यानमा समस्या परेको थियो । चालु आर्थिक वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको चार लाख २५ हजार रुपैयाँ सहकारीको ७५ हजार रुपैयाँ साझेदारीमा चिलिङ भ्याट गरिद गरिएको थियो ।

कृषकका अनुसार चिलिङ भ्याटले दूध बिग्रिने जोखिम घटाएको, उत्पादन बढाउने उत्साह थपेको र पशुपालनलाई थप व्यावसायिक बनाउन प्रेरणा दिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले चालु वर्षमा जिललमा दुई वटा एक हजार लिटर र तीन वटा ५ सय लिटर क्षमताको चिलिङ भ्याट सहयोग गरेको र छ वटा दुग्ध सङ्कलन केन्द्रको सुदृढीकरणमा सहयोग गरेको थियो ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममार्फत जिल्लामा चालु आवमा तरकारी सुपरजोन, अलैँची जोन तथा गाईभैँसी जोनमार्फत जिल्लाभर उत्पादन, पूर्वाधार, यान्त्रिकीकरण र उद्यम विकासमा उल्लेखनीय उपलब्धि हासिल भएको आधुनिकीकरण कार्यक्रमका कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत धनबहादुर थापामगर बताए ।

उनका अनुसार साना सिँचाइ निर्माण तथा मर्मत कार्यक्रमअन्तर्गत सामुदायिक पोखरी निर्माण, थोपा सिँचाइ प्रणाली जडान, सिँचाइ पाइप खरिद तथा मर्मतसम्भारमार्फत करिब ५८ हेक्टर क्षेत्रमा थप सिँचाइ सुविधा विस्तार गरिएको छ ।

‘अलैँची जोन विस्तार कार्यक्रममार्फत चालु वर्षमा थप २२१ रोपनी क्षेत्रफलमा अलैँचीखेती विस्तार गरिएको छ । क्षेत्र विस्तार गर्ने कृषकलाई प्रतिरोपनी रु तीन हजार २५० का दरले प्रोत्साहन रकम उपलब्ध गराएपछि कृषक अलैँचीखेतीतर्फ उत्साहित छन्,’ थापाले भने ।

च्याउ उत्पादन प्रवर्द्धनका लागि वार्षिक १८ मेट्रिक टन गोब्रे च्याउ उत्पादन गर्नसक्ने क्षमता भएका तीन वटा कम्पोष्ट संरचना तथा वार्षिक पाँच मेट्रिक टन सिताके च्याउ उत्पादन गर्न सक्ने आधुनिक संरचना निर्माण गरिएको छ ।

त्यसैगरी वार्षिक २५ मेट्रिक टन कन्ये च्याउ उत्पादन क्षमताका १ सय ८ वटा र दुई मेट्रिक टन सिताके च्याउ उत्पादन क्षमताका चार वटा च्याउ उत्पादन संरचना निर्माणमा सहयोग गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयले गाई–भैँसी प्रवर्द्धन कार्यक्रमअन्तर्गत पाडी तथा बाच्छी हुर्काउने कृषकलाई प्रतिपशु १५ हजार रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराइको छ ।

यसैगरी उन्नत तरकारी तथा गोलभेँडा खेती, अलैँची व्यवस्थापन, कृषि औजार मर्मत, ग्राफ्टिङ प्रविधि, रासायनिक विषादीको सुरक्षित प्रयोग, न्यून लागतमा दाना उत्पादन र कृत्रिम गर्भाधानलगायत विषयमा ३ सय ७६ कृषकलाई तालिम प्रदान गरिएको कार्यालय प्रमुख थापाले बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्