समय : ११:३६ pm | बुधबार , जेठ २७ गते २०८३

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अर्थ विशेष | जेठ २७ गते २०८३


दमौली। दमौली महिलाहरूका लागि अचार अब केवल खानासँग स्वाद थप्ने परिकारमात्र रहेन, यो आयआर्जन, आत्मनिर्भरता र उद्यमशीलताको नयाँ माध्यम बन्न थालेको छ।

वर्षौँदेखि घरघरमा बनाइँदै आएको अचारलाई व्यावसायिक रूपमा विकास गर्न थालेसँगै आयआर्जनको आधार बन्न थालेको हो।

यसैबीच महिला उद्यमी सङ्घ नेपाल तनहुँले सञ्चालन गरेको अचार बनाउने तालिमले महिलाहरूमा थप उत्साह थपेको छ। हालै सम्पन्न तालिमपछि धेरै महिलाहरू आफ्नै व्यवसाय सुरु गर्ने योजनासहित भविष्यका सम्भावनाबारे सोच्न थालेका छन्।

नेपाली समाजमा अचार बनाउने काम नयाँ होइन। घरायसी परम्पराअनुसार पुस्तौँदेखि अचार बनाउने गरिए पनि तालिमपछि सीपलाई व्यावसायिक रूपमा विकास गर्न तालिमले सहयोग पुगेको स्थानीय आरती खनालले बताइन्।

अचार बनाउने कामलाई पहिले सामान्य घरायसी जिम्मेवारीका रूपमा लिने गरे पनि तालिमपछि व्यावसायिक रूपमा विकास गर्ने योजना बनाएको उनको भनाइ छ।

‘पहिले अचार बनाउनु भनेको घरको कामजस्तो मात्रै लाग्थ्यो, तर अब यसलाई व्यवसायका रूपमा अघि बढाएर आम्दानी गर्न सकिन्छ भन्ने विश्वास बढेको छ । सीपलाई सही तरिकाले प्रयोग गर्नसके घरमै बसेर पनि आर्थिक रूपमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने महसुस भएको छ’, खनालले भने।

आरतीजस्तै अन्य महिलाहरूले पनि परम्परागत सीपलाई व्यवसायमा रूपान्तरण गर्न सकिने सम्भावना देखेका छन्। तालिमले महिलाहरूलाई अचार बनाउने विधिमात्र नभई उत्पादनलाई बजारयोग्य बनाउने विभिन्न पक्षबारे पनि व्यावहारिक ज्ञान प्रदान गरेको छ।

स्थानीय लीला प्रधान श्रेष्ठका अनुसार तालिमले उत्पादनको गुणस्तर कायम गर्ने, सरसफाइमा ध्यान दिने, आकर्षक प्याकेजिङ गर्ने तथा बजारको मागअनुसार उत्पादनलाई प्रस्तुत गर्ने तरिका सिकाएको छ। स्थानीय कोपिला थापाले तालिमपछि आफ्नै क्षमतामाथि विश्वास गर्ने आधार बनेको बताइन्।

स्थानीयस्तरमा उपलब्ध आँप, कागती, मूला, खुर्सानी, लसुन, अदुवा, टिम्मुरलगायत सामग्री प्रयोग गरेर विभिन्न प्रकारका अचार उत्पादन गर्न सकिन्छ। यसले स्थानीय कृषि उत्पादनको उपयोग बढाउनुका साथै मूल्य अभिवृद्धि गरेर अतिरिक्त आम्दानीको अवसर पनि सृजना गर्छ।

उद्यमी सङ्घकी अध्यक्ष निर्मला मल्लले महिलाहरूले प्राप्त सीपलाई व्यवहारमा उतार्दै व्यवसायसँग जोड्नुपर्ने बताईन्। घरासयी प्रयोगका लागि बनाइने अचारको व्यावसायिक उत्पादन गरे आम्दानीको स्रोत बन्ने देखिएपछि महिलाहरूलाई तालिम दिइएको उहाँले जानकारी दिईन्।

प्रशिक्षक तुलसी शाहले सहभागीलाई विभिन्न प्रकारका अचार बनाउने विधि, सरसफाइका मापदण्ड, गुणस्तर नियन्त्रण, लेबलिङ तथा प्याकेजिङबारे प्रशिक्षण दिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्