समय : ११:४१ am | बुधबार , चैत्र २५ गते २०८२

पर्यटकको रोजाइमा तीनकुने पोखरी

अर्थ विशेष | चैत्र २५ गते २०८२

इलाम । इलामको चुलाचुली गाउँपालिका–२ मा अवस्थित ‘तीनकुने पोखरी’ पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ । तीनकुने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको घुइँचो लाग्ने गरेको छ ।

स्थानीयवासीको सक्रियतामा भएको पूर्वाधार विकाससँगै पर्यटकको आकर्षण बढेको हो । जैविक विविधता, प्राकृतिक सौन्दर्य र भौगोलिक सहजताले पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनेको स्थानीय चेतन आङथुपोले बताए ।

“शनिबार र सार्वजनिक बिदाको दिन पोखरी घुम्न आउने पर्यटकको भीडभाड हुने गर्दछ”, उनले भने, “पोखरी घुम्न आउने पर्यटकले यस क्षेत्रको चहलपहल बढेको छ ।” यसैबीच, तीनपोखरीमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि ‘तीनकुने पर्यटन महोत्सव’ आयोजना हुँदैछ । स्थानीय ‘तीनकुने पोखरी सिमसार क्षेत्र’ को आयोजनामा तीनकुने पोखरीको खुला मैदानमा महोत्सव सञ्चालन हुन लागेको हो ।

यही वैशाख १ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय मौलिक संस्कृति, कला, साहित्य, संगीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनको प्रयास गरिने आयोजक समिति संयोजक नगीन्द्र श्रेष्ठले बताए । ‘चुलाचुलीको पहिचान, पर्यटनको अभियान’ मूल नारासाथ सञ्चालन हुने महोत्सवमा आदिवासी लिम्बू समुदायको च्याब्रुङ नाच (के:लाङ), राई समुदायको साकेला नाच, नेवार समुदायको लाखे नाच, तामाङ जातिको सेलो, मगर जातिको मारुनी, खसआर्य जातिको संगीनि लगायत विभिन्न जातजातिका सांस्कृतिक झाँकी र वेषभूषा प्रदर्शन गरिनेछ । स्थानीय कला, संस्कृति, हस्तकला सीप, स्थानीयद्वारा उत्पादित रैथाने खानपान प्रदर्शनीमा राखिने संयोजक श्रेष्ठले जानकारी दिए ।

“यहाँका आदिवासी भूमिपुत्रहरुको मौलिक संस्कृति, कला, साहित्य, संगीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने हाम्रो प्रयास हो । यसका लागि प्रत्येक दिन अलगअलग कार्यक्रम तय गरिएको छ”, संयोजक श्रेष्ठले भने, “मुख्य रुपमा स्थानीय क्षेत्रकै रैथाने उत्पादनलाई व्यवसाय तथा अर्थतन्त्रसँग जोड्न र युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्न सहयोग गर्ने उद्देश्य हो ।”

महोत्सवमा राजेशपायल राई, साहिल लिम्बू, पूजा लामा, पदम राई र एलिना चौहानको साथमा अन्य स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुती रहने आयोजक समितिका सचिव सेमन्ता खनालले जानकारी दिए ।

चुलाचुली गाउँपालिका–२ मोरंगे झोडाको सामुदायिक वनमा करिब ६ बिगा क्षेत्रफलमा फैलिएको तीनकुने पोखरी सिमसार क्षेत्र पर्यावरण र पर्यटकीय दृष्टिकोणबाट अत्यन्तै महत्वपूर्ण मानिन्छ । विसं २०५२ मा स्थानीय अगुवाले गहिरो खोल्सीलाई बाँध कसेर पानी सञ्चित गर्न थाले पनि २०७२ सालदेखि औपचारिक रुपमा पोखरी निर्माण गरेका थिए ।

समुन्द्री सतहबाट करिब १८५ मिटर उचाईमा रहेकको तीनकुने पोखरी पूर्वपश्चिम राजमार्गबाट उत्तरतर्फ करिब साढे ५ किलोमिटर दुरीमा पर्दछ । झापाको केर्खा बजार–पाडाजुंगीबाट उत्तर नर्सरी हुँदै मोटरसाइकल, सफारी, अट्टो र साना, ठूलो सवारीसाधनमार्फत सजिलै तीनकुने पोखरी पुग्न सकिन्छ ।

महोत्सवले तीनकुने पोखरीको थप प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नमा सहयोग पुग्नेमा आफू विश्वस्त रहेको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए। स्थानीयवासीको सक्रियतामा यहाँ महोत्सव आयोजना गरिएको हो । यसबाट तीनकुने पोखरीको थप प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नमा सहयोग पुग्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्