समय : १२:४३ pm | आइतबार , चैत्र १५ गते २०८२

कालीगण्डकीमा र्‍याफ्टिङ सञ्चालन

अर्थ विशेष | चैत्र १५ गते २०८२

म्याग्दी ।पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा र्‍याफ्टिङ सुरु गरेका छन् । पर्यटनको राजधानी पोखरा घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले पर्वतको जलजला गाउँपालिकाको फर्सेदेखि कुश्मा नगरपालिकाको नयाँपुलसम्म कालीगण्डकीमा र्‍याफ्टिङ सुरु गरेका हुन् ।

पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिको आयोजनामा पर्यटन व्यवसायी, जनप्रतिनिधि, महानगरपालिकाका प्रतिनिधि, उद्योगी, व्यवसायी र सञ्चारकर्मीको टोलीले फर्से–नयाँपुल खण्डमा र्‍याफ्टिङको शुभारम्भ गरे ।

र्‍याफ्टिङ रनर कम्पनीको व्यवस्थापनमा भएको र्‍याफ्टिङमा ३८ जनाको सहभागिता रहको पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपी भट्टराईले बताए । ‘पोखरादेखि सवारीमा दुई घण्टामा पुग्न सकिने फर्से-नयाँपुल खण्डमा र्‍याफ्टिङ गर्न आउने पर्यटकहरू कुश्मा, बागलुङ, बेनी, गलेश्वर पनि घुम्न पाउँछन्, प्रकृति, संस्कृति र साहसिक पर्यटन मन पराउनेका लागि यो उपयुक्त गन्तव्य हुनसक्छ’, उनले भने ।

फर्सेदेखि नयाँपुलसम्म करिब १० किलोमिटर दूरीमा र्‍याफ्टिङ गर्न १ घण्टा ३० मिनेट लाग्छ । पोखरा भ्रमण वर्षलाई लक्षित गरेर यसअघि समितिले मर्स्याङ्दी र सेती नदीमा पनि र्‍याफ्टिङको प्रवर्द्धन गरेको थियो ।

एकपटकमा एउटा बोटमा आठ जनाले र्‍याफ्टिङ गर्न सक्ने र्‍याफ्टिङ रनरका सञ्चालक वीरेन्द्र लामाले बताए । विदेशी पर्यटकका लागि नयाँपुलदेखि गुल्मीको रिडीसम्म तीन दिनको र्‍याफ्टिङ प्याकेज उपलब्ध गराइएको छ ।

कात्तिक र चैत महिना र्‍याफ्टिङका लागि अनुकूल याम मानिन्छ । कालीगण्डकी नदीको जलयात्राका साथै पहाडी भूगोल र तटीय क्षेत्रका बस्तीको अवलोकन गर्न पाउँदा रोमाञ्चक महसुस भएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्