काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले कफीखेतीलाई बर्सेनि प्राथमिकतामा राख्दै आएको छ।गाउँपालिकाले दीगो आयस्रोतका रुपमा कफीखेती छनोट गरी चालु आर्थिक वर्षको सुरुआतमै ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रमलाई निरन्तरता दिँदै आएको हो। कार्यक्रमअन्तर्गत कृषक समूह र कृषि सहकारी गरी १९ वटा संस्थामा आबद्ध कृषकलाई घोषित अनुदान हाल वितरण गरिएको छ
कृषक समूहलाई २१ लाख अनुदान वितरण गरेको गाउँपालिकाले जनाएको छ। वार्षिक उत्पादन(बिक्रीको आधारमा प्रतिकेजी ३५ रुपैयाँ अनुदान दिइएको हो। गत सालको तुलनामा यस वर्ष तीनगुणाले कफी उत्पादनमा वृद्धि भएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ।
गत साल समूहलाई सात लाख अनुदान वितरण गरेको शाखा प्रमुख खिम डाँगीले जानकारी दिएका थिए। उनका अनुसार उत्कृष्ट समूहमध्ये कोदाखोरिया कफी उत्पादन सहकारी संस्थाले १५ हजार चार सय ३४ केजी कफी उत्पादन गरी चार लाख ६३ हजार ३३ अनुदान पाएको छ। शाखाका अनुसार यस वर्ष करिब ५० हजार केजी कफी उत्पादन भएको छ।
कफी किसानलाई प्रोत्साहन दिन लागू गरिएको अनुदान कार्यक्रमअनुसार गाउँपालिकाले गत आर्थिक वर्षमा ३५ लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए।
ुसमूहभन्दा बाहिर रहेका किसानलाइ समेत समेटेर आउँदो आवमा कार्यक्रम बनाउनेछौँु, अध्यक्ष थिङले भने। उनले भौगोलिक विकटताका कारण अन्य नगदे बालीको भन्दा कफीको बजारीकरण सजिलो देखिएकाले उक्त खेतीलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए। उनका अनुसार अनुदान वितरण गरी बाँकी बजेटबाट चालु आवमा कृषकलाई ९० हजार बिरुवा अनुदानमा वितरण गरिएको छ।
विशेष गरी गाउँपालिकाको वडा नं १, २, ५, ६, ७ र ८ उत्पादनशील क्षेत्रमा कफीको बिरुवा वितरण गरिएको हो। ५ नं वडामा मात्रै पाँच हजार कफीको बिरुवा वितरण गरिएको छ। यहाँको एक परिवारले कफीखेतीबाट वार्षिक पाँचदेखि दश लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको स्थानीय सुवास जिम्बाले बताए। ुखेती राम्रो र बजारीकरणको समस्या नभएकाले केही वर्षदेखि कफीखेतीतर्फ आकर्षण बढेको छु, उनले भने।
विगत १३ वर्षदेखि वर्ष गर्दै आउनुभएको वडा नं ६ का किसान बाबुलाल घ्लानले गाउँपालिकाबाट कफीको बिरुवा र उत्पादन बिक्रीमा पनि अनुदान पाएपछि आफूहरु निकै खुसी भएको बताए। यस वर्ष अनुदान तथा प्राविधिक सहयोग पाएका उनले कफी उत्पादनबाट वार्षिक तीन लाख आन्दानी गर्दै आएका थिए। यो वर्ष उनले सात सय केजी कफी उत्पादन गरेका छन्।
बागमती प्रदेशको कृषि विकास निर्देशनालयबाट समुदायमा आधारित ‘एक वडा(एक कृषि उत्पादन’ कार्यक्रमअन्तर्गत महाभारत गाउँपालिका(५ र खानीखोला गाउँपालिका(२ लाई कफी उत्पादन वडाको रुपमा छनोट गरिएको छ।









