समय : ०८:२६ pm | आइतबार , चैत्र ८ गते २०८२

सार्वजनिक यातायातमा यात्रुलाई सास्ती नै सास्ती

अर्थ विशेष | चैत्र ८ गते २०८२

मनोरथ नेपाल/काठमाडौं । भनेको समयमा सिट नपाउने, घण्टौँ जाममा बस्नु पर्ने, अनि त्यही माथि सहचालकको हप्किदप्की, चर्को म्युजिक, झ्याप्प–झ्याप्प ब्रेक लगाउने उपत्यकाभित्र यात्रा गर्नेको दैनिकी नै भैसक्यो ।

मुलपानी बस्ने सरिता पुलामी दैनिकजसो सुन्धारा जान्छिन् । उनको गुनासो छ कि ‘यो रुटमा कहिल्यै समयमा गाडी आउँदैन, सिट पाउने भनेको पनि शनिबार मात्रै हो, गुन्द्रुक जस्तै खादिनु पर्छ हामी’, उनले भनिन् ।

गत साता आइतबार बसुन्धारा बस्ने सर्मिला मल्ल चक्रपथ बाट एयारपोर्ट जान बस चढिन् श्रीमानलाई लिन भनेर । उनले १ घन्टा बाटोको समय छुट्याइन् तर, समयमा पुग्न सकिनन् । चक्रपथबाट बिमानस्थल आइपुग्न उनले खेप्नु परेको सास्ती कती हो कती । उनि भन्छिन् ‘चढ्ने बित्तिकै पछाडि धेकल्दै लास्टमा पुर्याउँछन, अनि ओर्लने बेलामा पर्याप्त समय नै दिँदैनन्, कानको जाली फुट्ने गरी बजाएको म्युजिक ले त झनै वाक्क दिक्क हुन्छ, सहचालकको रुखो बोली अनि पाइला पाइला हेपिनु पर्ने हाम्रो दैनिकी जस्तै छ ।’

हरेक दिन झुन्डिदै यात्रा गर्ने किर्तिपुरका सुबास खत्री त्रीपुरेश्वर डेड घण्टामा कार्यालय आइपुग्छन् । उनले खाना पनि टिफिन मै ल्याउँछन् । उनी भन्छन्, ‘एउटै स्टप स्टेसनमा दिक्क लाग्ने गरी नै रोकिदिन्छ, अफिस टाइममा त्यसै हतार हुन्छ, झन कहिलेकाहीँ त अर्को चालकसँग गफिएर ढिला गर्दिन्छन्, १० बजे अफिस आइपुग्नु पर्छ बाटोको समय छुट्याउनै प¥यो खाना त्यती बिहानै रुच्दैन ।’

गट्ठाघरबाट सिनामंगल जान बस चढेका चन्द्र थारु रेस्टुरेन्टमा काम गर्छन् उनी रेस्टुरेन्टमा १० बजेर १५ मिनेट भित्रमा नै हाजिर हुनुपर्छ । उनी ८ बजे नै घरबाट निस्कन्छन् र पनि समयमा पुग्न धौ–धौ पर्छ । उनले दुखेसो पोख्दै भन्छन्, ‘एक दिन त गैरीगाउँमा निकै बेर बस रोक्दा आफू ओर्लेर पैदल हिँडेर नै पुगेँ ।’

छेउमै रहेका अर्का यात्रु भन्छन्, ‘बस टेम्पो जत्रो छ, मान्छे चाहि कोचेर हुन्छ ? अब बालेन सरकार आएपछी सबै मिल्छ ।’

त्यस्तै, सितापाइलाबाट सातदोबाटो जाने क्रममा एक जना महिला नाम नबताउने सर्तमा उनले भनिन्, ‘महानगर यातायातमा दुव्र्यवहार नै सहनु प¥यो, सहचालकको अनुरोधमा म पछाडि–पछाडि सर्दै गएँ, आन्दाजी ४० बर्षीय पुरुष मलाई च्यापौँला जस्तै गरी उभिएका थिए, त्यही माथि तीव्र गतिमा गाडी कुदाउने अनि झ्याप्प–झ्याप्प ब्रेक लगाउँदा मान्छेलाई झन नीउँ नै पाए जस्तो ।’

सार्वजनिक यातायातमा यात्रा गर्ने अधिकांश यात्रुले बस, टेम्पो, माइक्रो चढ्दा निरीह महसुस हुने गरेको बताउँछन । सडक खाली समयमा पनि लामो समय यात्रु कुरेर बस रोक्नाले त्यस्तै सास्ती खेप्नु परेको छ । कार्यालयको समयको पीडा छँदै छ तर, चालकलाई गुनासो गर्दा ओर्लेर ट्याक्सीमा जानु पछाडिको गाडी आएपछी मात्रै जान्छ भन्छन् । कार्यालय समयमा सार्वजनिक गाडी चढ्नु भनेको ठूलो अपराध गरेर सजाय भोगे जस्तै छ ।

बाफल बस्ने कुमार गौतम भन्छन् ‘नेपालमा सरकार भएको आभास नै हुँदैन, भेँडा बाख्रा जत्तिको पनि हामी सर्वसाधारणको मूल्य छैन ।’

अरूले निजी गाडी चढेर हिँड्दा चढ्न नसक्नेहरू मात्रै बसमा चढेको जस्तो सोच्ने हाम्रो समाज छ । ऋण गरेरै भए पनि एउटा बाइक त चाहिन्छ भन्ने सोच हामीमा छ तर, सार्वजनिक यातायात सुधारौँ, राम्रो गरौँ भन्ने कोही छैन सधैँ सार्वजनिक यातायातमा हिँड्ने अरुण तिवारी भन्छन् ।

सवारी चालकको आफ्नै दुखेसो

१७ वर्ष गाडी लाईनमा काम गरेका मुलपानीका चालक स्याम सुन्दर भन्छन्, ‘हाम्रो गाडीहरू प्राय सँगसँगै निस्केको हुन्छ अनि पहिलो स्टपमा पछाडिको गाडी आएपछी मात्रै जान राम्रो हुन्छ, जसले गर्दा यात्रुहरूलाई गाडी कुर्न पर्दैन, अब गुनासो त गर्छन नि सुनेर मात्रै पनि के गर्नु ? साहुलाई पनि दुई चार पैसा दिनै पर्यो आफ्नो पनि पेट पाल्नै प¥यो, अनि यात्रुहरूले हतार गरेर मात्रै के गर्नु किस्ता पनि बुझाउनु पर्छ ।’

१० वर्षदेखि गाडी चलाउँदै आएका नेपाल यातायातका चालक सुरेस हरहर माहादेव कालिमाटी रुटमा गाडी चलाउँछन् । उनि भन्छन्, ‘यात्रुहरू पनि बस स्टपमा नै बस्दिँदा सजिलो हुने र ट्राफिक कारबाहीबाट पनि जोगिन सकिन्छ ।’

यात्रुले जहाँ पायो त्यहीँ हात दिँदा अप्ठ्यारो परेर दिनदिनै फाइन तिर्नुपर्ने समस्याले पिरोलिएका साजन मगरको पनि गुनासो कम छैन । उनी ५ वर्षदेखि चक्रपथ रुटमा गाडी चलाउँछन । २० रुपैयाँको लोभले ५ सयको जरिबाना पर्दा मन कुटुक्क हुने बताउँछन् । त्यसो त उनी आफ्नो गल्ती पनि स्विकार्छन्, ‘कहिलेकाहीँ रातो बत्ती बल्न १० सेकेण्ड बाँकी हुन्छ गाडी हल्का दाबेर जाँदा पनि कटिँदैन त्यही बेलामा फाइन पर्छ, त्यसो गर्नु हाम्रो बाध्यता पनि हो, गल्ति पनि हो ।’

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्