वालिङ। यहाँको भिरकोट नगरपालिकाले फोहरमैला व्यवस्थापन र उद्यानबाट आम्दानी गर्दै आएको छ । भिरकोट ४ सिसौँघारीस्थित आँधीखोलाको किनारमा सरसफाइ केन्द्र तथा उद्यान निर्माण गरेर आम्दानीसँग जोडिएको हो ।
नगरपालिकाले आर्थिक वर्ष २०७७।७८ देखि सञ्चालनमा ल्याएको सरसफाइ केन्द्रमा सङ्कलन भएका कुहिने, नकुहिने तथा सिसाजन्य फोहरमैलाको व्यवस्थापन गरी बर्सेनी आम्दानी गर्दै आएको छ । सरसफाइ केन्द्र नजिकै भिरकोट उद्यान निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको गन्तव्यका रूपमा विकास गरी आम्दानी गर्दै आएको हो ।
नगरपालिकाले सञ्चालनमा ल्याएको सरसफाइ केन्द्र र उद्यानबाट हालसम्म रु ६१ लाख आम्दानी भएको केन्द्र तथा उद्यान व्यवस्थापक कृष्णप्रसाद अर्यालले बताए । “सुरुका वर्षको तुलनामा पछिल्ला वर्षमा फोहरमैला बिक्री बढ्नुका साथै उद्यानमा आगन्तुकको उपस्थिति बाक्लो हुँदै गएको छ । उद्यानमा प्रवेश शुल्कबापत सङ्कलन हुने रकम पनि बढ्दै गएको छ”, उनले भने “फोहरमैलाको परिमाण बढ्नुका साथै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुँदै गएकाले आम्दानी पनि वृद्धि हुँदै गएको हो ।”
नगरपालिकाले आर्थिक वर्ष २०८१ । ८२ मा उद्यान प्रवेश शुल्क तथा वनभोज, कबाडीजन्य सामग्री बिक्री तथा सरसफाइ शुल्कबाट रु १६ लाख २० हजार ४१५ आम्दानी गरेको उनले बताए। सोही शीर्षकमा आव २०८०।८१ मा रु १६ लाख ५१ हजार, आव २०७९।८० मा रु १३ लाख २८ हजार ६३५, आव २०७८।७९ मा सरसफाइ शुल्क तथा कबाडीजन्य सामग्री बिक्रीबाट रु आठ लाख ७८ हजार ३४४ र आव २०७७।७८ मा रु छ लाख १३ हजार ३५४ आम्दानी भएको व्यवस्थापक अर्यालले जानकारी दिए ।
सरसफाइ केन्द्र र उद्यान एउटै स्थानमा सञ्चालन गरेर आम्दानीसहित उदाहरणीय कार्यको थलानी गरिएको भिरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए। “फोहरमैलाको व्यवस्थापन र उद्यानको अध्ययन, अवलोकनका लागि विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रतिनिधि, सङ्घसंस्था, समूहहरू आउने गरेका छन्”, उनले भने, “अझै यसलाई व्यवस्थित गर्दै जाने योजना छ । यो सिकाइ तथा अध्ययनको गन्तव्य बन्दै गएको छ ।”
उद्यान परिसरभित्र ‘स्विमिङ पुल’ निर्माण अन्तिम चरणमा पुगेको नगरप्रमुख कर्माचार्यले उल्लेख गरे। उनका अनुसार सरसफाइ केन्द्र नजिकै १२० मिटर लम्बाइ र ८० मिटर चौडाइको जलाशय बनाई सोको बीचमा मन्दिरसहितको पूर्वाधार निर्माण भइरहेको छ । जलाशय सम्पन्न भएपछि डुङ्गाका माध्यमबाट मन्दिरमा पूजाआजाका लागि जानेआउने व्यवस्था मिलाइने उनले बताए।
आँधीखोलाको किनारमा अवस्थित समथर भूभागमा हरियाली उद्यानमा मनोरञ्जनका लागि भिरकोटसहित छिमेकी पालिकाबाट वनभोजका लागि आन्तरिक पर्यटक आउने गरेका छन् ।
वनभोजका लागि आउनेहरूलाई आवश्यक भाँडावर्तन, ग्यास तथा दाउराको व्यवस्था उद्यानले गरिदिने भएकाले सहज भएको प्रतिक्रिया दिने गरेका कर्माचार्यले बताए।









