समय : ०६:१२ am | मङ्गलबार , वैशाख ८ गते २०८३

करदाता शिक्षाले गर्दा गत आवमा काभ्रेमा नौ प्रतिशत कर सङ्कलनमा वृद्धि

अर्थ विशेष | श्रावण ११ गते २०८२

काभ्रेपलाञ्चोक । आर्थिक वर्ष २०८१/८२ मा काभ्रेपमा करिब ९ प्रतिशतले कर बढेको छ । बितेको आवमा ३ अर्ब ८८ करोड ५९ लाख ६८ हजार रुपैयाँ राजस्व सङ्कलन अघिल्लो आबभन्दा ८.७२ प्रतिशतले वृद्धि भएको हो ।

जिल्लास्थित आन्तरिक राजस्व कार्यालय धुलिखेलले वार्षिक लक्ष्यको तुलनामा ८५.६१ प्रतिशत प्रगति गरेको जनाइएको छ । यसमध्ये आयकर १ अर्ब ८२ करोड ३३ लाख ४९ हजार रुपैयाँ, घरबहाल कर ३ करोड २७ लाख २७ हजार रुपैयाँ, ब्याजकर ३२ करोड ७५ लाख १५ हजार रुपैयाँ सङ्कलन भएको हो । यस्तै अन्य आयकरतर्फ कार्यालयमा २ अर्ब १८ करोड ३५ लाख ९१ हजार रुपैयाँ सङ्कलन भएको छ ।

कार्यालयका अनुसार मूल्य अभिवृद्धिकर १ अर्ब ३० करोड १ लाख ३३ हजार रुपैयाँ, अन्तःशुल्क ४० करोड १९ लाख ५३ हजार रुपैयाँ, शिक्षा सेवा शुल्क २ लाख ६१ हजार रुपैयाँ, स्वास्थ्य सेवा शुल्क २९ हजार रुपैयाँ र अन्य शुल्क १ हजार रुपैयाँ सङ्कलन भएको छ ।

अघिल्लो आवको तुलनामा घरबहाल कर ९.०४ प्रतिशत र ब्याजकर ३.३० प्रतिशतले घटेको देखिएको छ । कुल आयकर ७.८८ प्रतिशतले बढेको कार्यालयले जनाएको छ । यस्तै अन्तःशुल्क १५.१० प्रतिशत, मुअकर ८.३९ प्रतिशतले बढेको हो । राजस्व हिस्सामा आय करले ४.९२ प्रतिशत स्थान ओगटेको तथ्याङ्कले देखाएको छ । आयकर तर्फबाट भने ५६.१९ प्रतिशत स्थान हिस्सा राजस्वमा ओगटेको दखिएको छ ।

अघिल्लो आवमा जिल्लाबाट ३ अर्ब ५७ करोड ४४ लाख ५० हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । काभ्रे मा कुल करदाताको सङ्ख्या १ लाख २९ हजार ९६९ छ । जसमध्ये १ हजार ३४५ सरकारी संस्था, मुअकरका ५ हजार ९८१, व्यक्तिगत ७५ हजार १५७, आयकर ४५ हजार ७६८, स्वास्थ्य संस्था ४९, अन्तःशुल्कका १ हजार ५६६ र शिक्षण संस्थातर्फ एक सय तीन करमा आबद्ध भएका छन् ।

सरकारले हरेक क्षेत्रमा अनिवार्य पान नम्बर व्यवस्था गरेपछि करदाताको सङ्ख्या र कर सङ्कलनको दायरा क्रमशः बढेको प्रतिवेदनले देखाएको छ । कार्यालयका प्रमुख कर अधिकृत रमेश भट्टराईका अनुसार करप्रति बढिरहेको नागरिकको चासो र करदाता शिक्षाका कारण राजस्व सङ्कलन बढिरहेको हो । विसं २०४५ देखि भ्याटमा आबद्ध हुने कानुनी व्यववस्था सुरु गरिएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्