समय : १०:१६ am | मङ्गलबार , वैशाख ८ गते २०८३

सामाजिक सुरक्षा कोषले श्रमिक र परिवारको स्वास्थ्यको सम्पूर्ण जिम्मा लिने

अर्थ विशेष | श्रावण ७ गते २०८२

काठमाडौँ। सामाजिक सुरक्षा कोषले अबका चार वर्षभित्रमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध श्रमिक र उनीहरूको परिवारको स्वास्थ्य जिम्मा राज्यले कोषमार्फत लिने लक्ष्यसहित योजना अघि बढाएको छ।

कोषद्वारा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कविराज अधिकारीले पछिल्लो समय स्वास्थ्य उपचारसम्बन्धी सुविधाहरू विस्तार गर्दै लगिएको जानकारी दिँदै औपचारिक क्षेत्रका श्रमिकका परिवारसम्म सेवा पु‍र्‍याइएको बताए।

“आजभन्दा पाँच वर्षअघिसम्म योगदानकर्तामा मात्र सीमित यो सेवा अहिले परिवारसम्म विस्तार भइसकेको छ,” कार्यकारी निर्देशक अधिकारीले बताए, “औषधि उपचारको लागि तोकिएको एक लाखको सीमा अस्पतालमा भर्ना भई उपचार गराइएमा १० लाख रुपैयाँसम्मको खर्चमा ५० प्रतिशत सहभुक्तानी सुविधा उपलब्ध गराइएको छ।”

उनका अनुसार पछिल्लो वर्षमा रोजगारदाता तथा श्रमिक सूचीकरण र योगदान रकम सङ्कलन उल्लेख्य मात्रामा वृद्धि भएको छ। कोषका अनुसार हालसम्म २० हजार ९९१ रोजगारदाता र २३ लाख ७४ हजार ४८६ श्रमिक कोषमा आबद्ध छन्। चालु आर्थिक वर्षमा मात्र ८ लाख ८२ हजार ९४६ श्रमिक थपिएका छन्।

कोषमा जम्मा भएको रकम ८३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ भने सामाजिक सुरक्षा योजनाअन्तर्गत १५ अर्ब ७५ करोड रुपैयाँ भुक्तानी गरिएको छ।

प्रवक्ता कृष्ण अधिकारीका अनुसार विशेष सापटी अन्तर्गत ६ अर्ब ९० करोड, घर सापटीमा १३ करोड र शैक्षिक सापटीमा १ करोड रुपैयाँ गरी हालसम्म ३४ हजार ९७ श्रमिकले कुल ७ अर्ब ४ करोड रुपैयाँ भुक्तानी प्राप्त गरेका छन्।

कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि योजनामा ल्याउने प्रयास जारी रहेको जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्