दमौली। भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुग्ध उत्पादक किसानलाई रु ९७ लाख ४१ हजार ५३४ अनुदान वितरण गरेको छ । दुग्ध उत्पादक किसानलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यालयले आर्थिक वर्ष २०८१-८२ मा ११ सहकारीमार्फत उक्त रकम वितरण गरेको हो ।
केन्द्रमार्फत दूधमा अनुदान वितरण कार्यक्रम दोब्बरले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०-८१ मा किसानलाई ४३ लाख ७३ हजार अनुदान वितरण गरिएको थियो ।
।जिल्लाका १५ वटा सहकारीमार्फत प्रस्ताव आए पनि दोहोरो सुविधा नहुने गरी १०– ११ वटा सहकारीमार्फत दूध बिक्री वितरण गर्ने किसानलाई अनुदान दिइएको अधिकारीले उल्लेख गरे।
उनले भने, ‘कतिपय स्थानीय तह आफैँले पनि दूधमा अनुदान दिने कार्यक्रम सञ्चालन गरेका छन् । त्यस्ता ठाउँमा दोहोरिने भएकाले वितरण गरेनौँ ।’
दूधमा उत्पादनका आधारमा अनुदान दिन थालेपछि किसान दुग्ध उत्पादनतर्फ आकर्षित भएकाले जिल्ला दूधमा आत्मनिर्भर बन्न सहयोग पुगेको छ ।
व्यास नगरपालिका–१० दुम्सी दुग्ध उत्पादक सहकारी संस्थामार्फत पाँच लाख ८३ हजार ३३३ लिटर दूध बिक्री गरेबापत रु १७ लाख ५० हजार, व्यास नगरपालिका–१ स्थित चारकुने दुग्ध उत्पादक सहकारीमार्फत एक लाख १६ हजार ९२९ लिटर दूध बिक्री गरेबापत रु तीन लाख ५० हजार ७८८, व्यास नगरपालिका–१३ स्थित बेलबास दुग्ध उत्पादक सहकारीमार्फत पाँच लाख पाँच हजार १२ लिटर दूध बिक्री गरेबापत रु १५ लाख १६ हजार ५३७, व्यास नगरपालिका–५ चिन्तुटार दुग्ध उत्पादक सहकारी संस्थमार्फत एक लाख ८५ हजार १४० लिटर दूध बिक्री गरेबापत रु पाँच लाख ५५ हजार ४२१, व्यास नगरपालिका–१० स्थित शेवर दुग्ध उत्पादक सहकारीमार्फत एक लाख ४८ हजार ३३२ लिटर दूध बिक्री गरेबापत रु चार लाख ४४ हजार ९९८ अनुदान वितरण गरिएको छ ।
बन्दीपुर गाउँपालिका–५ याम्पा दुग्ध उत्पादक सहकारीमार्फत पाँच लाख ५४ हजार २६० लिटर दूध बिक्री गरेबापत रु १६ लाख ६२ हजार ७८०, बन्दीपुर गाउँपालिका–१ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामार्फत ९६ हजार ९९३ लिटर दूध बिक्री गरेबापत रु दुई लाख ९० हजार ९८०, देवघाट गाउँपालिका–५ स्थित गोहीटार कृषि सहकारी संस्थामार्फत दुई लाख ७५ हजार ५७ लिटर दूध बिक्री गरेबापत रु आठ लाख २५ हजार १७२, शुक्लागण्डकी नगरपालिका–१० स्थित शुक्ला कृषि पर्यटन सहकारीमार्फत तीन लाख ४६ हजार ६२१ लिटर दूध बिक्री गरेबापत रु १० लाख ३९ हजार ८६४ अनुदान उपलब्ध गराएको छ ।
त्यसैगरी शुक्लागण्डकी नगरपालिका–७ स्थित गौ सेवा दुग्ध उत्पादक सहकारी संस्थामार्फत ९१ हजार ५३० लिटर दूध बिक्री गरेबापत दुई लाख ७४ हजार ५९० र शुक्लागण्डकी नगरपालिका–९ स्थित जयलक्ष्मी दुग्ध उत्पादक सहकारीमार्फत तीन लाख ४३ हजार ४६६ लिटर दूध बिक्री गरेबापत १० लाख ३० हजार ३९८ अनुदान वितरण गरिएको केन्द्रले जनाएको छ ।
दुम्सी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष सुवास सापकोटाले दूधमा अनुदान दिने नीतिले किसानलाई सहज भएको बताए।
उनले भने, ‘अनुदान नीतिले पहिला कम दूध उत्पादन गर्नेले पनि अहिले बढी उत्पादनमा जोड दिएका छन् ।’










