जनकपुरधाम। जनकपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्म रु ३४ करोड २८ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षमा रु ५७ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखिएको थियो।
चालु आर्थिक वर्षको वार्षिक लक्ष्यको तुलनामा हालसम्म ६०.७ प्रतिशत मात्र राजस्व सङ्कलन भएको कार्यालयका भन्सार अधिकृत एवं सूचना अधिकारी रबिन्सलाल दासले जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु ५१ करोड ७४ लाख ९१ हजार राजस्व सङ्कलन गरिएको थियो।
चालु आर्थिक वर्षको वैशाखसम्म कार्यालयको मुख्य भन्सार नाका जटहीबाट रु २८ करोड ६२ लाख ५९ हजार, भडरिया छोटी भन्सार नाकाबाट रु १८ लाख ३६ हजार, इनरुवा छोटी भन्सार नाकाबाट २२ लाख ९५ हजार र बाँकी जनकपुर भन्सार कार्यालयबाट राजस्व सङ्कलन भएको दासले जानकारी दिए।
लिलामी र चोरी तस्करीका मुद्दा
कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लिलामीसम्बन्धी परेका मुद्दामध्ये २९८ वटाको फैसला गरेको उनले बताए। ५६५ लिलामीका मुद्दा परेकामध्ये २९८ वटाको छिनोफानो गरी रु एक करोड ५६ लाख २० हजार राजस्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ।
लिलामीसम्बन्धी मुद्दाको प्रतिवेदन मूल्य रु नौ करोड १५ लाख ५६ हजार रहेको थियो। सो अवधिमा विभिन्न समयमा चोरी तस्करीका लिलामीसम्बन्धी जनकपुरधाम भन्सार कार्यालयको ११ मुद्दामध्ये नौ वटाको फैसला भएको छ।
सशस्त्र प्रहरीको ४१७ मुद्दामध्ये २०१ मुद्दाको फैसला भएको छ भने नेपाल प्रहरीको १३७ लिलामीका मुद्दामध्ये ८८ वटाको छिनोफानो भएको सो कार्यालयबाट प्राप्त विवरणमा जनाइएको छ।
आयातित सामग्री
जटही नाकाबाट अर्धतयारी कपडा, हार्डवेयरसम्बन्धी सामग्री, टायल्स, कोइला, कृषि उपज, कृषिका लागि विषादी, खाद्यान्न, तरकारी, फलफूल, खेलकुद सामग्री, स्टेसनरी, तथा विभिन्न उद्योगका कच्चापदार्थ, घरायसी लगायत अन्य दैनिक सामग्री आयात भएको कार्यालयका भन्सार अधिकृत दासले जानकारी दिए।










