काठमाडाैं। धनुषाको मिथिला नगरपालिकामा लामो समयदेखि सुकुम्वासी (भूमिहीन) का रुपमा बस्दै आएका ६४ परिवारलाई आज एक समारोहबीच लालपुर्जा वितरण गरिएको छ।मिथिला नगरपालिकाको ढल्केवरमा आयोजित समारोहमा मिथिला नगरपालिका–१, ६ र ७ का भूमिहीनलाई सबै कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरिएको हो।
नापी कार्यालय धनुषाको दुई नं नापी टोलीले गाउँब्लकको जग्गा नापजाँच गरेर लालपुर्जा वितरण प्रक्रिया तयार गरेको थियो। त्यसैका आधारमा उनीहरुलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालयका प्रमुख उमेश साहले जानकारी दिए।Shree Steel
मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतो,जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल,भूमि समस्या समाधान आयोगका अध्यक्ष सुरेश कोइरालालगायतले उनीहरुलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरे। लालपुर्जा पाउने प्रक्रियाबाट वञ्चितलाई चाँडै कानुनी प्रक्रिया पूरा गरेर लालपुर्जा वितरण गरिने उनले बताए।
सो अवसरमा आयोगका अध्यक्ष कोइरालाले लालपुर्जा वितरणमा राजनीति नगर्न आग्रह गर्दै जग्गाजमिनमा लामो समयदेखि बस्दै आएका तर स्वामित्वको आधिकारिक कागजात नभएकाको समस्या चाँडो समाधान गर्नुपर्नेमा जोड दिए।
धनुषामा ७५ वटा गाउँब्लक रहेका छन्। यसमा ७२ गाउँब्लकको जग्गा नापजाँच भइसकेको छ। १२ गाउँब्लकको पुर्जा वितरण भइसकेको छ।










