समय : १०:३७ pm | शनिबार , वैशाख १२ गते २०८३

मुस्ताङको स्याङमा उन्नत गाई पालन फस्टाउँदै

अर्थ विशेष | वैशाख २४ गते २०८२

जोमसोम।हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम नजिकै रहेको एक ओझेलमा परेको गाउँ हो स्याङ । सदरमुकाम जोमसोम नजिकै रहेपनि मुस्ताङको स्याङ गाउँका स्थानीयले पर्यटन व्यवसायबाट आर्थिक लाभ लिन भने सकिरहेका छैनन् । सामान्य खेतवाली गर्दैआईरहेका स्याङ गाउँका स्थानीयको मुख्य जिविकोपार्जनको माध्यम भनेकै कृषि र पशुपालन हो ।

स्याङ गाउँमा झन्डै ६०—६५ घरधुरीको बसोबास छ । जहाँ अधिकाँश थकाली समुदाय छन् भने केही दलित समुदायको मिश्रित वस्ती छ । सीमित खेतीयोग्य जमिनमा कृषि वाली उत्पादन गरी जिविकोपार्जन गर्दैआईरहेको स्याङ गाउँमा अहिले पशुपालन व्यवसाय पनि कृषि कर्मसंगै जोडिएको छ । हिमाली उपआयोजना मार्फत २०७० सालदेखि मुस्ताङको स्याङ गाउँमा व्यवसायिक जर्सी गाईपालन सुरु भएको हो । खेतीवालीका लागि आवश्यक पर्ने अर्गानिक मलजल तथा जर्सी गाईबाट दुध ,दही,ध्यु र छुर्पी लगायतका परिकार उत्पादन गरी आर्थिक लाभ सकियोस भन्ने हेतुले सुरु गरिएको व्यवसायिक गाईपालन पछिल्लो समय निकै फस्टाउँदै जान थालेको किसान ढोका गुरुङले बताईन् ।

हिमाली उपआयोजना अघि मुस्ताङमा केही सीमित पशुपालकले मात्र स्थानीय जातका गाईपालन गर्ने गथ्र्ये । उपआयोजनाको आर्थिक अनुदान सहयोगबाट सुरु गरिएको व्यवसायिक गाईपालन अहिले बर्सेनि वृद्धि हुँदै जान थालेको अर्का किसान महेश थकालीले बताए । सुरुवाती चरणमा करिव डेढ दर्जन किसानले हिमाली उपआयोजनाको अनुदान सहुलियतमा व्यवसायिक गाई पालन गरिएको उनले बताए । त्यसबेला एक घरधुरीलाई २ वटा जर्सी गाई किन्न र पूर्वाधार निर्माण गर्न हिमाली उपआयोजनाले अनुदान सहुलियत दिएको उनको भनाई छ ।

हिमालीले सुरुवात गरेको व्यवसायिक जर्सी गाई पालन अहिले स्याङ गाउँमा बृहत बन्दै जान थालेको छ । अहिले स्याङ गाउँका अधिकाँश घरधुरीले १ देखि १ दर्जनसम्म गाई पालेका छन् । स्याङमा कुल घरधुरी मध्ये दुई तिहाई घरधुरीले व्यवसायिक गाई पालन व्यवसायसंग जोडिएको बताईएको छ । धार्मिक तथा पर्यटकीय जिल्ला भएर पनि कुनै व्यवसायिक लाभ लिन नसकेका स्याङ गाउँ किसानले दुध बेचेर मनग्ये आम्दानी गर्न थालेको स्थानीय किसान चन्द्र थकालीले उल्लेख गरे । सडक संञ्जालले जोडिएपनि गाउँका युवाहरु भविष्य खोज्दै विदेश पलायन हुने क्रम बढिरहेको बेला व्यवसायिक गाईपालन व्यवसायले युवाहरुलाई विदेश पलयानबाट रोक्न र गाउँ÷ठाउँमा आर्थिक आम्दानी लिनसक्ने ढोका उघ्रिएको हो ।

मुस्ताङको स्याङ गाउँमा अहिले विभिन्न किसानहरुको करिव सय भन्दा बेसी गाई पालन गरिएको छ । व्यवसायिक गाईपालनको संरचना निर्माण तथा गाई खरिदमा अनुदान पाएका देखि अन्य किसानले पनि गाईपालन व्यवसायिकलाई पछ्याउँदै जाने क्रम बढेपछि स्याङ गाउँ जर्सी गाईपालन हब बन्दै जान थालेको हो । एउँटै जर्सी गाईले १० देखि १५ लिटरसम्म दुध दिने भएकाले स्याङ गाउँमा गाईपालन व्यवसायप्रति स्थानीयको आर्कषण बढ्दै गईरहेको हो। स्याङमा अहिले दैनिक ३ सय लिटर भन्दा बढी दुध उत्पादन हुने स्याङ दुग्ध संकलन केन्द्रले जनाएको छ ।

स्याङमा जर्सी गाईको गोबरबाट अर्गानिक मल उत्पादन गरी खेतीवालीका लागि सदुपयोग गर्ने गरिएको छ भने अर्कोतर्फ जर्सी गाईको दुध बिक्री गरेर मनग्ये आम्दानी पनि हुने गरेको छ । पछिल्लो समय तीन दर्जन भन्दा बेसी घरधुरीले व्यवसायिक गाईपालन गरेका छन् । व्यवसायिक गाई पालनका लागि घाँस र दाना किन्नुपर्ने हुन्छ। कतिपयले गाईपालनका लागि गोठालाहरुलाई तलब दिएर खटाएका छन् । घाँस,दाना र गोठाला खर्च कटाएर पनि ५० प्रतिशत आम्दानी हुने स्याङ गाउँका किसान मनेबहादुर थकालीले जानकारी दिए । थकालीका ३ वटा जर्सी गाई छन् । उनले दैनिक २५ देखि ३५ लिटरसम्म दुध उत्पादन गर्ने बताए । उनले उत्पादन गरेको दुध नजिकैको बजार जोमसोममा लगेर बिक्री गर्ने गरेको जनाए ।सुरुमा १ वटा जर्सी गाई थियो,अहिले ३ वटा छ ,उनले भने,‘ ५ वटासम्म गाईपाल्ने धोको छ,दुध बेचेर सन्तोषजक आम्दानी लिएको छु ।’

अर्को गाई पालक किसान जीवन थकाली १५ वटा जर्सी गाई छन् । उनले दैनिक ६० लिटर भन्दा बढी दुध उत्पादन गर्ने गरेको बताउँछन् ।थकालीले उत्पादन गरेको दुध गाउकै दुग्ध संकलन केन्द्रमा बिक्री गर्छन । गाउमै दुध संकलन केन्द्र भएकाले बिक्री वितरण गर्न समस्या नभएको किसान थकालीको भनाई छ । स्याङ गाउँमा स्थानीय अमर थकालीले दुध संकलन गर्ने र संकलन गर्ने गरिएको दुध जोमसोम,कागबेनी र मुक्तिनाथमा लगेर बिक्री वितरण गर्दैआईरहेका छन् ।संकलन गरिएको दुध किसानबाट प्रतिलिटर ८५ रुपैयाको दरले खरिद गर्ने गरेको दुध संकलक अमर थकालीको भनाई छ । उनका अनुसार बर्सेनि पुस र माघ अनि असार र श्रावण महिनामा दुधको माग केही कम हुने भएपनि अन्य महिनामा दुध बिक्री वितरण गर्न कुनै समस्या नरहेको थकालीले उल्लेख गरे ।

एक दशक अघि मुस्ताङमा बजारिया पाउडरको दुध प्रयोग हुन्थ्यो । यहाँका होटल तथा रेष्टुरेन्टहरमा पाउडरके दुध प्रयोग गरिन्थ्यो । स्याङ गाउँमा व्यवसायिक जर्सी गाईपालन सुरु भएपछि मुस्ताङको जोमसोम,कागबेनी,मार्फा र मुक्तिनाथमा पाउडरको दुध विस्थापित भएको छ । मुस्ताङ आउने पर्यटकले जर्सी गाईको दुधबाट बनेको चिया खान पाएका छन् ।

दुध संकलन केन्द्र तथा केही किसान आफैले दुध लिएर बजारमा पू¥याउने गरेका छन् । मुस्ताङको बजारमा एक लिटर दुधको मुल्य प्रतिलिटर एक सय देखि एक सय दश पर्छ । जर्सी गाईको दाना र घाँसको मुल्य बढेपनि दुधको मूल्य वृद्धि हुन नसक्दा किसानलाई केही समस्या परेको स्थानीय किसान उमा थकालीले उल्लेख गरिन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्