समय : ०१:२३ pm | मङ्गलबार , भाद्र १६ गते २०८३

गौचरन जग्गामा केराखेती

अर्थ विशेष | चैत्र १२ गते २०८१

दाङ । ठूलो राप्ती र सानो राप्तीको बीचमा रहेको लमही नगरपालिका–६ ढीकपुरमा २५ बिघा जमिनमा व्यावसायिक केराखेती गरिएको छ ।उद्यमशील बहुउद्देश्य कृषि सहकारी संस्थाको लगानीमा गरिएको केरा खेतीले बाझो जमिन हराभरा भएको छ ।

सहकारी संस्थाका सचिव विश्वप्रकाश अधिकारीका अनुसार २७७ कित्ता विभिन्न व्यक्तिका नाममा गौचरनका रुपमा रहेको ५२ बिघा जमिनलाई चक्लाबन्दी गरिएको छ ।

उनले भने, ‘सहकारीले कार्यविधि तयार गरेर चक्लाबन्दी जमिन तयार गर्ने र कृषिमा जोडिने नयाँ कार्यविधिअनुसार केरा खेती गरिएको छ । बाँझो जमिनलाई सदुपयोग गर्ने र व्यवसायमा जोडिने उद्देश्यले जमिनको खोजी गर्ने क्रममा राप्ती किनारमा गौचरनमा केराखती थालिएको हो ।

‘जग्गाको मालिक खोज्ने र छलफल गर्ने काम भयो । उनीहरु सबैले जग्गा सहज रुपमा दिनुभयो’, सचिव अधिकारीले भने । चक्लाबन्दी गरी पाँच वर्षका लागि जमिन भाडामा लिएको उनको भनाइ छ । ‘बलौटे माटो भएकाले यहाँ केराखेती राम्रो हुन्छ’, उनले भने । बिरुवा उत्पादन गर्न मालभोग केराखेती गरेको अधिकारी बताउछन् ।

वि.सं २०८० वैशाखमा चितवनको टाँडी र हेटौँडाबाट २० हजार बोट ल्याएर केरा रोपिएको हो । रोपेको एक वर्षमा केरा पसाउन सुरु गरेको छ । बिरुवा खरिद गर्न ३७ लाख लगानी गरिएको अधिकारीले बताए । ‘केराका बिरुवा रेखदेख गर्न पाँच जनालाई रोजगारी दिएका छौँ’, उनले भने ।

अन्य कृषिबाली जस्तो मेहनत गर्न नपर्ने र आम्दानी पनि राम्रो हुने भएपछि गत वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएको अधिकारी बताउछन् ।

एकपटक रोपेपछि धेरै पटक आम्दानी लिन सकिने र अरु कृषिबाली जस्तो दुःख नहुने भएपछि सहकारीले केराखेती गरेको उनले बताए ।

उद्यमशील बहुउद्देश्य कृषि सहकारी संस्थाका अध्यक्ष लक्ष्मी शर्माले व्यावसायिक केराखेतीबाट मनग्य आम्दानी गर्न सकिने बताइन् । ‘स्थानीय खोलाबाट लिफ्टिङ र बोरिङबाट पानीको जोहो भएको छ । लमही विद्युत् प्राधिकरणले विद्युत् विस्तार गरेकाले बिजुलीको समस्या छैन’, उनले भनिन् ।

केरा खेतीका लागि देउखुरीमा माटोसँगै सिँचाइको व्यवस्था भएकाले थोरै खेतीबाट पनि पर्याप्त आम्दानी लिन सकिने भएकाले पछिल्लो समय केराखेती गर्ने किसान बढेका कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले बताए । उनका अनुसार जिल्लामा पाँच सय ३० हेक्टर जमिनमा व्यावसायिक केराखेती हुने गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्