काठमाडौं । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ । उक्त विमानस्थललाई सञ्चालनार्थ नेपाल नागरिक उड्डयन प्राधिकरण तथा सम्बन्धित निकायसँग समन्वय गर्दै कार्ययोजना निर्माण गरिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए ।“गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि कार्ययोजना तयार पारेर प्राधिकरण र सम्बद्ध सबै निकायमार्फत फहल गरिरहेका छौँ, “उनले भने, “विमानस्थल सञ्चालनको सुरुआती चरणमा एयरलाइन्सलाई आकर्षित गर्न विभिन्न प्रोत्साहन कार्यक्रम लागु गरिएका थिए ।”
महाप्रबन्धक तिवारीका अनुसार यात्रु भाडादर प्रतिस्पर्धी बनाउँदै विमानस्थलको बजार प्रवर्द्धन र गन्तव्य प्रवर्द्धनमा जोड दिइएको छ । साथै, यात्रु सुविधाका लागि श्रम, मेडिकल, तथा भिसा प्रक्रिया सहज बनाउने पहल भइरहेको छ । उनले सबै पक्षबीच बलियो सहकार्य गरी ‘समर सेड्युल’लाई निरन्तरता दिने र विमानस्थललाई विश्वसनीय बनाउने दिशामा पहल गर्नुपर्ने आवश्यकता औँल्याए ।










