काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.१० प्रतिशत अर्थात २९.८७ अंकले बढेर २ हजार ७२७.९१ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३८ प्रतिशतले बढेर ४५९.६९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०२ वटा स्क्रिप्टको १ करोड ८० लाख ८१ हजार १६८ कित्ता सेयर १० अर्ब ४ करोड ९६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु)भन्छन्, ‘बैंकिङ इन्डेक्सले बजारलाई सपोर्ट गरेकाले करेक्सन फेज लगभग सकिएको छ । बैंकहरुको ऋण लगानी बढ्नु, नयाँ गभर्नर आउने समय नजिकिनु जस्ता विषयले बजारमा सकारात्मक माहोल बनाएको छ ।’प्राविधिक रुपमा पनि बजारले हायर–लो निश्चित गरेकाले बजार ३ हजार विन्दुसम्म पुग्न सक्ने उनले आँकलन गरे ।
अर्का बजार जानकार नीमानन्द कंडेलले पनि सरकारको स्थायित्व बढ्दै जानु, नयाँ गभर्नरप्रति लगानीकर्ता आशावादी हुनु र मौद्रिक नीतिको समीक्षा सकारात्मक आउने अपेक्षाका कारण बजारले गति लिएको बताए ।यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज अन्य समूहमा सर्वाधिक वृद्धि देखियो । यो समूह आज २.४७ प्रतिशतले बढेर २ हजार १४८.०९ विन्दुमा पुग्यो ।
यस्तै आज बैंकिङ समूह २.१६ प्रतिशत,विकास बैंक ०.३३,होटल २.२९,लगानी ०.२०,जीवन बीमा ०.८९,उत्पादन तथा प्रशोधन ०.७७, लघुवित्त २.४५,म्युचुअल फण्ड ०.५२ र निर्जीवन बीमा समूह १.०७ प्रतिशतले बढ्यो । वित्त समूह आज ०.८४ प्रतिशत, हाईड्रो ०.१५ र व्यापार समूह १.२७ प्रतिशतले घट्यो ।









