काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२७ प्रतिशत अर्थात ७.२६ अंकले घटेर २ हजार ६७८.४७ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.११ प्रतिशतले घटेर ४४९.८८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०२ वटा स्क्रिप्टको १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता सेयर ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्, ‘बजारमा विस्तारै सबै कुरा सकारात्मक बन्दै गईरहेको छ । यद्यपी आगामी साता पनि बजारमा खासै ठूलो उचारचढाव आउने देखिदैन । फागुन १५ पछि भने बजार केही हदसम्म बढ्न सक्छ ।’
विष्टले गभर्नरको बहिर्गमनपश्चात लगानीकर्तामा आत्मविश्वास बढ्न सक्ने भएकाले यसले बजारलाई टेवा पुग्ने बताए ।
अर्का बजार जानकार दामोदर गजुरेलले बजारमा यतिबेला एक्युमुलेशन भईरहेको बताए । ‘आज बजार सामान्य घटेको छ । लगानीकर्ताले स्क्रिप्ट छानेर लगानी गरिरहेका छन् । बजारलाई धेरै प्रभावित पार्ने खालको कम्पनीहरुको रिपोर्ट पनि आएको छैन,’ उनले भने ।
नीतिगत सुधार र अर्थतन्त्र चलायमान भएमा मात्रै बजारले थप गति लिने समेत गजुरेलले बताए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज फाइनान्स समूह सर्वाधिक बढ्यो । यो समूह आज १.८८ प्रतिशतले बढेर २ हजार ७९६.१० विन्दुमा पुग्यो ।
यस्तै आज लगानी समूह ०.५२ र लघुवित्त समूह ०.१७ प्रतिशतले बढ्यो ।
विकास बैंक समूह आज सर्वाधिक अर्थात ०.९५ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.२३ प्रतिशत, होटल ०.५८, हाईड्रो ०.९०,जीवन बीमा ०.१४,उत्पादन तथा प्रशोधन ०.४७,म्युचुअल फण्ड ०.०८,निर्जीवन बीमा ०.८७, अन्य ०.१० र व्यापार समूह ०.०१ प्रतिशतले घट्यो ।









